१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

‘लकडाउनमा बालबालिका’



सन्तोष रेग्मी ।
भदौ २९ गते, बालबालिकाका लागि मनाइने दिवस अर्थात् राष्ट्रिय बाल दिवस । प्रारम्भमा म अलिकति आजको दिन अथवा बाल दिवसको इतिहासलाई अथवा यसको सुरुवातलाई स्मरण गराउन चाहान्छु ।

तत्कालीन बडामरानी रत्नराज्य लक्ष्मीदेवि शाह भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनलाई अवसर पारेर त्यहाँ बाल दिवस मनाइने गरेको देखिन्न । त्यसैकोे प्रभावमा उनी नेपाल फर्किए लगत्तै आफनो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनको स्थापना गरिन् ।

विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बाल दिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । सोही दिनको स्मरण गर्दै पहिले वि.स २०६३ अघि भाद्र ४ मा बाल दिवस मनाउने गरिन्थ्यो ।

कतिपयले व्यवस्था परिवर्तन पश्चात् नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मा प्रबेशपछि तत्कालीन बडामहारानीको जन्मदिनको दिन यो दिवस मनाउन सरकारले उपयुक्त नठानेको मत राख्दै आएका छन् ।

तर खासमा २०४६ सालको परिवर्तन पश्चात् स्थापित अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धि महासन्धि १९८९, लाई २०४७ भाद्र २९ मा अनुमोदन गरि त्यसको पक्ष राष्ट्र बनेको थियो । सोही दिन अर्थात् भाद्र २९ लाई नै बालदिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

राजनीतिक संक्रमणकाल, माओवादी आन्दोलन एंव अन्य कारणले वि सं २०६३ साल अघि मनाइएका बाल दिवसलाई सरकारले तुलनात्मक रुपमा निकै कम महत्व दिने गरेको साथै सरोकारवालाले पनि खासै चासो राखेको पाइदैनथ्यो ।

खासमा मुख्य कुरा कुन दिन वा कुन स्मृतिमा दिवस मनाइयो भन्दा पनि दिवसले बालहित , बालसरोकार, अनि बालअधिकारका क्षेत्रमा कस्तो भुमिका खेल्यो त्यो महत्वपूर्ण कुरा हो ।

नेपालको भूगोल भित्र, कुल जनसंख्याको झन्डै आधाआधि जनसंख्यामा रहेका बालबालिका मध्ये कति बालबालिकालाई समावेश गर्न सक्यो त ? यो एकदमै विचारणीय कुरा हो । त्यसैले इतिहास वा मिति तिर आल्मलिएर , अर्थ नहोला ।

यस बर्ष सरकारले “विपत्मा बाल अधिकार को सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता “ भन्ने मुल नारा का साथ मनाउँदै छ ।

सरकार ले बाल अधिकार को सुनिश्चिततालाई प्राथमिकतामा राखिरहँदा देशका झन्डै ४२५ ( जनगणना २०६८) बालबालिका को बाल अधिकारको अवस्था कस्तो छ त ? के ती सबै सरकारले नारामा भने जस्तै बालअधिकार सुनिश्चितताको प्राथमिकतामा परेका छ्न त पक्कै छैनन् ।

नेपालको संविधानले अंगिकार गरेको बालबालबालिकाको सर्वोतम हितलाइ प्राथमिकता राख्ने नीति एंव सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयन पक्ष कत्तिको प्रभावकारी भएको छ त ?

बालबालिका सम्बन्धि ऐन २०७५ ले बालबालिकाका लागि तय गरेको विभिन्न १३ मुलभुत अधिकारको सुनिश्चितता के साच्चै प्रत्येक बालबालिकाले अनुभव गर्ने पाएका छन् होला त ? उत्कृष्ट नीतिगत व्यवस्थाका बाबजुत पनि हाम्रा बालबालिकाको अवस्थामा किन समयानुकूल परिवर्तन आएको छैन अब स्पष्ट खोजी, अध्ययन र समिक्षा हुनु जरुरी छ ।

झन् आहिलेको कोभिडको महामारीबाट त उनीहरुको अधारभुत अधिकार पनि धराशायी बनेका छ्न, जसको चर्चा तल गर्ने छु । सन २०३० सम्म नेपालले दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको अवस्थामा यसका पुर्वधार मानिएका बालअधिकार, शिक्षा, स्वास्थ जस्ता विषयमा सन्तोषजनक प्रगति गर्न सकिएको छैन ।

आज पनि धेरै संख्यामा बालबालिका विद्यालयको पँहुचबाट बाहिर छ्न । सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने पनि प्राथमिक तहको खुद भर्ना दर नै जम्मा ९६.५५ प्रतिशत छ । बाकी ३.५५ बालबालिकाले विद्यालयको मुख समेत देख्न पाउँदैनन् ।

विगतभन्दा तुलनात्मक सुधारहरु देखिए पनि गुणात्मक र संख्यात्मक हिसाबले हेर्दा अझै पनि गाँस बाँस कपास लगायत शिक्षा, स्वास्थ्य , सरसफाइ , पोषण जस्ता अति आधारभूत कुराहरु बाट बालबालिका बन्चित छ्न । केही समय पहिले युनेस्कोको एउटा प्रतिबेदनमा भनिएको छ । गरिबी घट्दो क्रममा रहे पनि नेपालमा दुई तिहाइ बालबालिकामा सात मध्ये एक अति अधारभुत आवश्यकता बाट बन्चित छ्न ।

के आज बाल दिवस मनाइरहदा सरकारले आफैले गरेका प्रतिबद्धताको कार्यान्वयन पक्षको अध्यन, मुल्यांकन, विश्लेषण र समिक्षा गरेको छ त ? पक्कै पनि आम मानिस वा आम बालबालिकाले अनुभव गर्न सक्ने गरि गरेको छैन ।

अब केही महामारीको चपेटामा परेका बालसमुदायको बारेमा केही चर्चा गरौं । अहिले सारा विश्व कोभिड (१९ को महामारीसँग जुधिरहेको छ । यसको संक्रमण दरलाई रोक्न सुरुवाती अवस्थामा अधिकांश देशमा जस्तै नेपालमा पनि कडा किसिमको लकडाउन थियो ।

अहिले पनि नेपाल लगायत धेरै देश हरु मा आंशिक लकडाउनको अवस्था छ । जसका कारण बिद्यालय, सार्बजनिक खेल स्थल , पार्कहरु बन्द छ्न् जसको मार सबैभन्दा बढी प्रत्येक बालबालिका माथी परेको छ , आधा शैक्षिक बर्ष सकिन लाग्दा विद्यार्थी हरु स्कुल जान पाएका छैन्न घरमै धुनिएर रहन बाध्य छन् ।

जसले उनीहरुको मौलिक विकास संगसंगै सिर्जनात्मक, रचनात्मक वृद्धिविकासमा ह्रास आइरहेको विभिन्न प्रतिबेदनहरुले देखाइरहेका छ्न ।

केही शैक्षिक संस्थाले अनलाइन कक्षा जस्ता वैकल्पिक विधिबाट अध्यन गराइरहे पनि त्यसैले दुईतिहाइ बालबालिकालाई समेट्न सकेको छैन , उनीहरु अझै पनि प्रविधि को सर्वव्यापी पहुँचबाट बाहिरै छन् ।

अधिकांश गरिबीको रेखा मुनि रहेका बालबालिका पोषणजन्य, सन्तुलित आहारबाट झन् (झन बन्चित हुँदै गैरहेका छन् जसले गर्दा कुपोषण लगायतका घातक रोगबाट बालबालिका शिकार बन्दै छन्, जुन एउटा् अदृश्य महामारी नै हो ।

अहिले अधिकांस स्वास्थ्य संस्थालाई कोभिडको आइसोेलेशन बनाइएको छ । जसले बालबालिकालाई विभिन्न संक्रमणबाट बचाउन दिइने खोप लगायत भिटामिन खुवाउने कार्यक्रमहरु पनि प्रभावित भैरहेका छन् । जुन बालबालिकाको नैसर्गिक अधिकार हो त्यस प्रती आम सरोकारवालाको ध्यान पुग्न जरुरी छ ।

लकडाउनमा अभिभावकहरुको बेरोजगार संख्या बड्दो छ । जसले चरम गरिबी पनि निम्त्याइरहेको छ । जसका कारण भविस्यमा बालबालिका ठूलो गरिबीको चपेटामा पर्दै छन् । । धेरै बालबालिकाको स्कुल जाने बाटो बन्द हुदै छ । पेटभरी खान नपाउने अवस्था सिर्जना हुदै छ । बालबालिकाको बाँस, गाँस, कपास खोसिदै छ ।

बालबालिकामा सन्तुलित आहारसँगै मनोरञ्जनको कमिले गर्दा भविष्यमा बालबालिका बिभिन्न रोगबाट ग्रसित हुँदै गरेका प्रतिबेदन आइरहेको छ्न । बालश्रम पनि बढ्दो छ । यतिमात्र होइन, यो लकडाउनको अवधिमा बालबालबालिकाहरु घरेलुु हिंसाको सिकार भैरहेको समाचार दिनहुँ आउँछन् ।

बालिका बलात्कार घट्ना दिनहुँ सञ्चार माध्यममा आइरहेका हुन्छ्न । परिवार ,गरिबी र अभाव को चपेटामा म परिरहदा त्यसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । भबिष्यमा बाल विवाह, बाल मृत्युदर , मातृ मृत्युदर बढ्ने खतरा देखिएको छ ।

कोभिडको संक्रमण रोक्न लगडाउन, निषेधाआज्ञा जारी गर्दै गर्दा त्यसको मारमा बालबालिका हरु नै सबैभन्दा बढी परिरहेको विषयलाई मनन् गर्दै उनीहरुको उद्दार हुनु जरुरी छ । नत्र कोभिडपछि वा संगसंगै यी डरलाग्दा सुचक को सिकार मा हाम्रा बालबालिका पर्ने निश्चित छ ।

अन्तमा, आज बालबालिका दिवसको यस शुभ दिनमा म, तपाई , हाम्रो परिवार , जनप्रतिनिधि, सरोकारवाला, सरकार सबै हामी बालअधिकारप्रती निकै संबेदनसिल हुनु जरुरी छ ।

प्रत्येक बालबालिका लाई महामारीको यस जोखिमबाट जोगाउदै उनीहरु इच्छा, चाहाना , वृद्धिविकासप्रति सजग हुनु आवश्यक छ ।

हामी जोगिदै उनीहरुलाई जोगाउन जरुरी छ । उनीहरुको सुन्दर भविष्य निर्माण प्रती गम्भीर हुँदै जिम्मेवारीबोध र उत्तरदायी हुनु पर्दछ ।
अतः महामारी बाट यसले सिर्जना गरेका बालबालिका का विषयमा जानकार बनौं , सुरक्षित रहौं र राखौं । राष्ट्रिय बाल दिवस को सम्पुर्ण बालबालिका लाई शुभकामना ।

वाणगंगा-११ कपिलवस्तु 

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  २ : २७ बजे