६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अब देखि वाणगंगामा कर तिर्न ई–सेवाको प्रयोग गर्न सकिने



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले ई–सेवा मार्फत कर भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने भएको छ । नगरपालिकामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगरबासीलाई कर तिर्न सहज होस भनेर ई–सेवा मार्फत कर तिर्न सकिने व्यवस्था मिलाउने निर्णय गरेको हो । यसका लागि नगरपालिकाले कार्ययोजना थालेको छ ।

बैठकले ई-सेवाबाट कर लिने निर्णय गरेपनि यसको आवश्यक प्रक्रिया भने प्राविधिकहरुले थाल्नेछन् । अबका केही दिनमा सबै प्रक्रिया पूरा भएपछि नगरबासीले कर तिर्न सक्ने नगरपालिकाले जनाएको छ ।

कोभिड–१९ को बेला गाउँ गाउँमा पुगेर स्वास्थ्य सचेतना छर्ने नगरपालिका भित्रका सबै स्वास्थ्य स्वयमसेविकालाई पनि वाणगंगाले निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर भित्रका १ सय १२ स्वास्थ्य स्वयमसेविकालाई कोरोना बीमा गराईदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

यस्तै नगर कार्यपालिका बैठकले बाणगंगा–७ खारखानीमा निर्माण हुन थालेको सौर्य उर्जाका लागि जग्गा उपलब्ध गराउने सम्बन्धि राय सुझावलाई स्विकृत दिएको छ ।

प्रदेश सरकार समक्ष नगरका २ सामुदायिक बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्विकृत गराउने निर्णय पनि गरेको छ । जसमा बाणगंगा ७ मा रहेको जनज्योति माबि मोतिपुर र बाणगंगा ११ मा रहेको हेमराज माबि हथौसा छनौटमा परेका छन । यी दुई मध्ये प्रदेशबाट एक विद्यालय नमुना विद्यालयमा छनौट हुनेछ ।

साथै बाणगंगा ३ मा रहेको पर्यटकीय क्षेत्र राजपानीमा थारु संग्रहालय निर्माणका लागि बजेट मागका लागि संस्कृति तथा नागरिक उड्यान मन्त्रालय समक्ष प्रस्ताब लैजाने पनि निर्णय गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : ३० भाद्र २०७७ मंगलबार ००:००  ७ : ५१ बजे