४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउँदै स्वास्थ्य मन्त्रालय



काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड१९ को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाइने भएको छ ।

इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले निर्णय भएको तर मन्त्रिपरिषद्‍बाट पारित भइनसकेको जनाए । उनले भने क्याबिनेटबाट निर्णय भएपछि मात्र टुंगो लाग्छ र कोभिड परीक्षणमा नयाँ मापदण्ड परिवर्तन हुनेछ ।

जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेका अनुसार स्वास्थ्यकर्मी संक्रमित भए भने उनीहरुबाट अरुमा पनि कोरोना सर्ने सम्भावना हुन्छ । कन्ट्याक्ट ट्रेसिङमा परेका छन्, संक्रमितको उपचार गरेका छन् भने लक्षण नदेखिए पनि टेस्ट गर्नुपर्ने हुन्छ । लक्षण नदेखिए पनि सार्न सक्ने सम्भावना हुन्छ ।अनिवार्य रुपमा परीक्षण गरिनुुपर्छ ।

डा‍. पाण्डेले परीक्षण नगरे संक्रमण झन् तीव्र रुपमा फैलिने बताए । उनले भने, परीक्षण नगर्दा झन् फैलिन सक्छ । परीक्षण गर्ने क्षमतामा कमी र खर्च बढी भएको हुनाले यो निर्णय गरिएको हो तर परीक्षणमा कम्प्रोमाइज गर्नु हुँदैन यो निर्णय सच्याउनुपर्छ । पहिला नै परीक्षण गरेर आइसोलेट गर्दा पछि उपचारमा खर्च लाग्दैन ।

प्रकाशित मिति : ३० भाद्र २०७७ मंगलबार ००:००  २ : २१ बजे