भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख नाघ्यो


एजेन्सी ।
भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकापछि सबैभन्दा धेरै छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ८० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमा सङ्क्रमण बढिरहे पनि ज्यान गुमाउनेको दर विश्वका धेरै देशको तुलनामा कम छ ।

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाखभन्दा धेरै निको भइसकेका छन् भने नौ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा अहिले कोरोनामुक्त हुने दर ७८ दशमलव ४२ प्रतिशत छ भने ज्यान गुमाउने दर १ दशमलव ६३ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अर्थ व्यवस्था सुदृढ गर्न प्रतिबन्ध खुकुलो बनाउँदै जाँदा केही हप्तायता सङ्क्रमण बढिरहेको छ । पछिल्लो केही हप्तायता दैनिक ८० हजारदेखि ९० हजार जनासम्म सङ्क्रमित थपिइरहेका छन् ।

भारतमा जिमखाना खुल्ने क्रममा छ भने स्कुल, क्याम्पस र सिनेमा हल बन्द नै छन् । विश्वभर अहिलेसम्म दुई करोड ९७ लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमतिमध्ये दुई करोड १५ लाख ४६ हजारभन्दा धेरै निको हुँदा नौ लाख ३९ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस