२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कपिलवस्तुको बुद्धभूमिमा मनाईयो संविधान दिवस



मायादेवी अनलाइन, बुद्धभूमि ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले फरक क्षमताका बालबालिकालाई बस्तुगत सामग्री वितरण गरेको छ । विभिन्न विद्यालयमा अध्ययन गर्ने फरक क्षमताका ९ जना बालबालिकालाई नगरपालिकाले बस्तुगत सामग्री वितरण गरेको हो ।

बस्तुगत सामग्री पाउनेहरु मध्ये दुई जना अर्घाखाँचीका छन् । यस्तै बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाका दुई÷दुई जना रहेका छन् भने यशोधरा गाउँपालिकाका, शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाका एक/एक जना रहेका छन् ।

विद्यालयमा पढ्ने अति विपन्न र शारीरिक रुपमा अति अशक्त विद्यार्थी खोजेर नगरपालिकाले प्रत्येकलाई एक/एक सेट पाइन्ट सट, व्याग, जुत्ता मोजा, एक दर्जन कापी र एक दर्जन पेन दिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको अवसरमा स्थानीय राजपत्र ७ औं खण्डको सार्वजनिकी गरिएको थियो । कार्यक्रम पश्चात बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले संविधानले दिएका अधिकारको सही कार्यान्वयनमा आफुहरु लागेको बताउनुभयो । स्थानीय सरकारलाई संविधानले दिएका अधिकार प्रयाप्त रहेको उल्लेख गर्दै तिनको कार्यान्वयन गरिरहेको नगर प्रमुख श्रेष्ठले जनाउनुभयो । कतिपय कानुनहरु तीन तहकै सरकारका साझा रहेको भन्दै आपसीसमझदारी कायम गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्र सरकारले स्थानीय सरकारलाई दिएको अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा राख्दै उहाँले जारी संविधानको सबै तहबाट कार्यान्वयन हुन सके नेपाली जनताको सपना साकार हुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष पिताम्बर खनालले नेपाली जनताद्धारा लिखित संविधान उत्कृष्ट रहेको बताउनुभयो । संघर्षपूर्ण बलिदानीले संविधान बनेको भन्दै संविधानको सही कार्यान्वयन निर्वाचित जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नगर नेता हिमलाल न्यौपानेले संविधानमा उल्लेखित कानुनहरुको सबैले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । संविधानले धेरै कुरालाई समेटेको भन्दै संविधान नपढिकनै टिप्पणी गर्न उचित नहुने धारणा राख्नुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रिय नेता विष्णुहरि शर्माले सबैको त्याग, तपस्या र बलिदानीबाट संविधान जारी भएपनि अझै असन्तृष्टिका स्वरहरु रहेको भन्दै तिनको माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । संविधान फेर्नै हुन्न भन्ने र संविधानले केही दिएर भन्ने दुई अतिवाद अहिले हावी भएको भन्दै यसले कार्यान्वयनमा जटिलता पैदा हुने बताउनुभयो । दुई अतिवाददाई हटाउन सके मुलतः संविधान उत्कृष्ट नै रहेको बताउनुभयो । समयको माग अनुसार संविधान संशोधन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति माधव दमासे, राप्रपाका नगर नेता अर्थ बहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका नगर प्रतिनिधि माधव पौडेल लगायतले बोल्दै संविधानको कार्यान्वयन पक्षलाई नै जोड दिनुभएको थियो ।

उक्त अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नेपालको संविधान भित्र रहेका विशेषताको बारेमा चर्चा गर्नुभएको थियो ।

नगर उप प्रमुख मिरा थारुको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत राजन पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  ७ : ३८ बजे