१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश ५ का विभिन्न जिल्लामा १२ जनाले ज्यान गुमाए



बुटवल ।
प्रदेश ५ का विभिन्न जिल्लामा भएको घटनाहरुमा १२ जनाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, रोल्पा र पाल्पामा भएका घटनाहरुमा १२ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको देवदह १२ कनपरा स्थित रोहिणी खोला किनारमा अन्दाजी ५५ वर्षकी महिलाको शव फेला परेको छ। शव सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । यस्तै रुपन्देहीकै तिलोत्तमा ११ भू.पु.सैनिक बस्ने बर्ष-१६ की बालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

रुपन्देहीकै बुटवल ६ शान्तिनगरस्थित तिनाउ खोला किनारमा ५-६ महिनाको शिशु प्लाष्टिकमा हालेर फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीकै शुद्धोधन ४ फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधीन घरमा शुद्धोधन ३ दोगाना बस्ने ४० वर्षका तारा सिंह थारुले प्लास्टरको काम गर्ने क्रममा बिजुलीको नाङगो तारलाई छुदा करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै बाँके नेपालगञ्ज १ डेन्टल हस्पिटल नजिकै बस्ने गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वैल्डिङ गर्ने क्रममा राप्तीसोनारी ५ का १९ वर्षीय धन बहादुर थारुको मृत्यु भएको छ ।

कपिलवस्तुको कृष्णनगर २ बसपार्क स्थित लक्ष्मी हार्डवयर नजिकै ६०/६५ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन्।

दाङको लमही ६ छुट्की मरहवा की ६५ वर्षीया एक महिलाले आत्महत्या गरेकी छिन् । यस्तै बर्दिया बढैयाताल ५ जगतियाका पञ्चराम थारुको १३ वर्षकी छोरी आफ्नै घरको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

प्यूठान ९ जैसीधगेका राजु परियारको छोरा १२ वर्षका बालक घरमै आत्महत्या गरेका छन् ।

पाल्पा तिनाउ १ झिङ्गामारा स्थित जंगलमा रुपन्देहीको सैनामैना ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा मृत अवस्थामा फेला परेका छन् । रोल्पा त्रिबेणी ३ छापकी १७ वर्षकी बालिकाले आफ्नै घरमा आत्महत्या गरेकी छिन् ।

रोल्पामै रोल्पा नगरपालिका ३ गोठमारे बस्ने ५८ वर्षका लालसिंह खत्रीको बिषादी सेवनबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  ४ : २७ बजे