२० जेष्ठ २०८१, आइतबार | Sun Jun 2 2024

आईपीएलः मुम्बईद्धारा पञ्जाव ४८ रनले पराजित



एजेन्सी ।
साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामलेअविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे ।

मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २÷२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ रन जोडे । सूर्यकुमार यादवले १० रन बनाए ।

पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए । जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । र, मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको थियो ।

पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो । तर, तेस्रो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

४ खेलमा २ अंक जोडेको पन्जाबको यो तेस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, दोस्रो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पन्जाबलाई राजस्थान रोयल्सले ४ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ६ : ०८ बजे