८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तीन महिनाकी छोरीलाई अलपत्र छोडेर दम्पत्तिद्धारा आत्महत्या



दाङ ।

रुकुम पश्चिममा एक दम्पत्ति घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। बाफिकोट गाउँपालिका वडा नं. ७ २२ वर्षीय दिपक खनाल र उनकी २१ वर्षीया श्रीमती विपना खनाल आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक हरि वलीले जानकारी दिए।

आत्महत्या गर्नुभन्दा पहिला उनीहरूको बीचमा आपसमा झगडा भएको देखिएको प्रहरी निरीक्षक वलीले बताए। ‘कोठामा चुराहरू फुटेको तथा समानहरू यताउता ढलेको देखिएको छ,’ वलीले भने, ‘त्यो आधारमा उनीहरूका बीचमा झगडा भएको र त्यसपछि दुबैले आत्महत्या गरेको देखिएको छ।’ प्रहरीका अनुसार खनाल दम्पत्ति घरमा एक्लै बस्दै आएका थिए। उनीहरूकी तीन महिनाकी छोरी छन्।

प्रहरी निरीक्षक वलीका अनुसार नजिकै घर भएका दीपक खनालका भाइले बिहान तीन महिनाकी छोरी रोइरहेको सुनेपछि ढोका खोलेर हेर्ने क्रममा दुवै जना झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको वलीले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  ३ : ४४ बजे