११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

च्याम्पियन्स लिगः बार्सिलोनाको शानदार सुरूवात



एजेन्सी ।
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार जित हात पारेको छ । मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसलाई ५–१ हराउँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।

लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अघि बढाएका थिए । अंशु फातीले ४२औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । फिलिप कौटिन्होले ५३औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

६८औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो । पीकेको रातो कार्ड बार्सिलोनालाई महङ्गो पर्ने देखिन्छ । उनले युभेन्ट्सविरुद्धको अर्को खेल गुमाउनेछन् ।

खरातिनले ७०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काए ।

बार्सिलोनाका गोन्जालेजले ८२औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्‍याए । खेल सकिन एक मिनेट बाँकी हुँदा उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए । जितसँगै बार्सिलोनाले समूह ‘जी’को खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ६ : ४५ बजे