१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मन जित्ने काम गर्दै वाणगंगाको ७ नं. वडा



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाको ७ नं. वडा कार्यालयले विभिन्न क्षेत्रको कामका लागि मैदानमा खटिएर काम गर्ने महिलाहरुलाई एक/एक वटा साइकल र व्याग वितरण गरेको छ । कपिलवस्तुको उत्तरी क्षेत्रमा अवस्थित वाणगंगाको ७ नं. वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र बाल विकास केन्द्रका सहजकर्ताहरुलाई बुधबार एक कार्यक्रमका बीच यस्तो सहयोग गरेको हो ।

आव ०७७/०७८ को महिला लक्षित कार्यक्रम अन्तर्गत १३ जना महिलालाई प्रदान गरिएको साइकल र व्याग संविधान सभा सदस्य बलराम अधिकारी, वडाध्यक्ष विष्णु गिरी लगायतले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

कोरोना महामारीको बेला पनि दिनरात फिल्डमा खटेर वडाको काममा सक्रिय स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीलाई सम्मान स्वरुप साकइल र व्याग वितरण गरेको वडाध्यक्ष गिरीले बताउनुभयो ।

गत बर्षहरुमा वडाले महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सीपमूलक कार्यक्रम गर्दै आएको भएपनि यो बर्ष साइकल र व्याग वितरण गरिएको वडाध्यक्ष गिरीले बताउनुभयो । महिला दिदीबहिनीलाई काममा हौसला प्रदान गर्न अहिलेको महामारीले यस्तो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका संविधानसभा सदस्य तथा नेकपाका नेता बलराम अधिकारीले वडाले गरेको यो कामले लक्षित बर्गमा संघीयताको अनूभुति जगाएको बताउनुभयो । देशमा तीन तहका सरकार निर्माण भएका भन्दै सबैले जनता केन्द्रित गतिविधि गरेर मन जित्नुपर्नेमा अधिकारीले जोड दिनुभयो ।

जनताका आवश्यकता थुप्रै रहेपनि विस्तारै सबै पूरा हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । वाणगंगाको वडा नं. ७ ले अरुले भन्दा फरक कार्यक्रम गरेको भन्दै आगामी दिनमा यस्तै रचनात्मक र सिर्जनात्मक काम गर्न आग्रह गर्नुभयो ।

नगर उप प्रमुख चक्रपाणी अर्यालले वडा नं. ७ ले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । नगरका सबै वडाको काम प्रशंसयोग्य रहेको चर्चा गर्दै उप प्रमुख अर्यालले नगरबासीका उचित मागहरुलाई क्रमश पूरा गर्दै गएको बताउनुभयो । नगरपालिकाले यो बर्ष पारदर्शिता, सुशासन र व्यवस्थापनमा राष्ट्रियस्तरको पुरस्कारसमेत पाएको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, टोलविकास समितिका अध्यक्ष भिम बहादुर थापा, स्वास्थ्यकर्मी सुन्धारा केसीले लगायतले बोल्नुभएको थियो ।
वडासचिव कृष्ण खनालको सञ्चालनमा भएको कार्यक्रममा साइकल र व्याग पाउने वडाका स्वास्थ्यकर्मी, महिलास्वास्थ्य स्वयमसेविका र बालविकास सहजकर्ताहरु वडाले सम्मान दिएको भन्दै खुशी देखिएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ४ : ३३ बजे