६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

च्याम्पियन्स लिगः रियलको खराब सुरूवात, शाख्तरसँग पराजित



एजेन्सी ।
स्पेनिस च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा शाख्तर डोनेस्कसँग पराजित भएको छ । शाख्तरसँग ३-२ ले पराजित हुँदै रियलले लिगमा खराब सुरूवात गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको थियो ।

पहिलो हाफमा कमजोर डिफेन्सका कारण शाख्तरको काउन्टर अट्याक रोक्न नसकेको रियलले दोस्रो हाफमा पुनरागमन गरे पनि जित निकाल्न सकेन । खेलको २८औं मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसको तीन मिनेट नबित्दै रियल २-० ले पछि पर्‍यो । टेटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारे पनि रिबाउन्डमा राफेल भारानको खुट्टामा लाग्दै गोल भयो ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरले ३-० को अग्रता लियो । मानोर सोलोमोनले शाख्तरका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफको ५४औं मिनेटमा लुका मोड्रीचले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ५ मिनेटपछि वैकल्पिक खेलाडी भिनिसियस जुनिअरले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए ।

८०औं मिनेटमा शाख्तारका कप्तान मार्लोसले गोल गरे पनि अफसाइड भएकाले रेफ्रीले गोललाई मान्यता दिएनन् । इन्ज्युरी समयमा रियल म्याड्रिडले भालभेर्डेको गोलमा खेल बराबरी गरे पनि अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिएनन् । तर, त्यसपछि खेलमा कुनै गोल भएन र शाख्तरले खेल जित्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  ६ : ०९ बजे