१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘बाणगंगाका मेयर थारुले ७१ बर्षीय काकाको हातबाट टिका थाप्दै’



मायादेवी अनलाइन, चार नम्बर ।
मंगल प्रसाद थारु, बाणगंगा नगरपालिका कपिलवस्तुका नगरप्रमुख । वि.सं २०७४ सालमा स्थानीय तहको चुनाव भएपछि नगर प्रमुखमा चुनिनु भएका उहाँले यसपटकको दशैँ मनाउँदै हुनुहुन्छ । गत बर्ष दुख परेर दशैँ मनाउन नपाउनु भएका मेयर थारु दशैँ मनाउने स्थिति भए पनि यसपटक त्यति खुसी हुनुहुन्न ।

वडा नम्बर ११ ओदारीस्थित घरमा परिवार, आफन्त र शुभेच्छुकहरुसंग संयुक्त रुपमा दशैँ मनाउने योजनामा रहनु भएका मेयर थारुले कोराना महामारीको कारण घरकै सदस्यसंग मात्रै दशैँ मनाउनु पर्दा दुख लागेको सुनाउनु भयो । पहिले पहिले घटस्थापनादेखि नै परिवारमा दशैँको चहलपहल हुने गरेको भए पनि यसपटक दशैँको दिन आइसक्दा समेत कुनै रौनकता र रमाइलो नहुँदा खल्लो महसुस भएको मायादेवीसंग बताउनु भयो ।

अहिले मेयर थारुको घरमा उहाँसहित श्रीमती सूर्य कुमारी थारु, जेठो छोरा संजय कुमार चौधरी, बुहारी सन्तु भण्डारी चौधरी, कान्छो छोरी विजय चौधरी, बुहारी पुनम चौधरी र २ नाती छन् । उनीहरुको साथमा रहेर मेयर थारुले दशैँ मनाउनु हुने छ । मेयर थारुले छोरा बुहारी, नातीनातिनालाई दशैँ टिका । जमरा लगाई रहँदा उहाँले भने काकाको हातबाट टिका थाप्दै हुनहुन्छ । जमरा लगाउँदै हुनुहुन्छ । पितामाता गुमाइसक्नु भएका थारुले ओदारीमै रहनु भएका आफ्ना ७१ बर्षीय काका रकीराम थारुको हातबाट २०७७ सालको टिका थाप्न लागेको मायादेवी अनलाइनसंग बताउनु भयो ।

मानिसको धेरै भीँडभाड नभए पनि मेयर थारुको घरमा थारु समुदायमा प्रचलित परिकार घोँगी, ढिकडी, मछडी, मज्जैले पाक्दै छन् । थारु संस्कृति अनुसार दशैँमा महाअष्टमीको साँझबाट कोटिहीमाई, दिउहारको नाम लिएर घरमा बेबुरी, जेवरा, बतासा र अगरवत्ति चढाउने चलन छ । मेयर थारुले सोही संस्कृति अनुसार दशैँ मनाउने सुरसार भएको बताउनु भयो । मेयर थारुले कोरोनाले दशैँको हर्षौल्लास खोसेकोमा दुखेसो समेत पोख्नु भयो ।

नेपाल सरकारले ‘जो जहाँ छ, त्यहीँ बसेर दशैँ मनाउनू भनेकाले पनि अहिले नगरबासीहरुले आफू भएकै स्थानमा बसी रमाइलोपूर्वक दशैँ मनाउँदा कोरोनाको सम्भावित जोखिमबाट बच्न सकिने भनाई राख्नु भयो । चाडबाड बनाउँदा भीँडभाड नगर्न, अरुको देखासिकी नगर्न, जुवातास नखेल्न नगरबासीमा आग्रह गर्दै मेयर थारुले भन्नुभयो स्वास्थ्य ठीभ भए अर्को साल धुमधामपूर्वक मनाऔँला ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ५ : १० बजे