‘होम आइसोलेसनमा मेयर सिंहको दशैं, संक्रमित श्रीमती र छोरोसंगै रमाउने’


मायादेवी अनलाइन, चारनम्बर ।
१० पालिका रहेको कपिलवस्तु जिल्लाका अधिकांश मेयर तथा उप–मेयरले हर्षौल्लासहित दशैँ मनाई रहदा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह र उहाँको परिवारमा भने कुनै उत्साह छैन । विश्व नै कोरोना महामारीले थिलो थिलो भइरहेको अवस्थामा मेयर सिंहलाई पनि कोरोना संक्रमणले छोडेन अर्थात् उहाँलाई कोरोना संक्रमण भयो । रातदिन नगरबासीको खुसी र विकासमा खटिरहँदा कति बेला कोरोना पोजेटिभ भयो, उहाँलाई पत्तै भएन ।

अर्को विडम्बना भनेको सिंहले दशैँमा परिवारका सबै सदस्य र आफन्तसंग दशैँ मनाउने स्थितिमा हुनहुन्न । किनकी उहाँ मात्रै होइन उहाँकी श्रीमती उमा क्षेत्री र छोरा कसिब सिंहको रिपोर्ट पनि पोजेटिभ आएको छ । यसकारण तीनै जना दशैँको दिनसम्म पनि होम आइसोलेसनमै बस्नु पर्ने बाध्यता छ । चाहेर पनि दशैँको रमझममा सहभागी हुन उहाँहरु पाउनु हुने छैन ।

कोरोना पोजेटिभ रिपोर्ट आएको ५ दिन भयो भने दोश्रो रिपोर्ट अब दशैँ पछि मात्र आउने छ । यसकारण २०७७ सालको दशैँ इतिहासकै खल्लो दशैँ भएको सिंहले मायादेवीसंग दुखपूर्वक बताउनु भयो । यस्तो नमिठो अनुभव अहिलेसम्म कहिल्यै पनि नभएको सिंहको अनुभव छ ।

मेयर सिंहको घर वडा नम्बर ३ देवनगढीया बजारमै छ । दशैँमा परिवार, दाजुभाईसंग भेट हुने टिका लगाइदिने, आशिर्वाद दिने । लिने मन भए पनि कोरोनाले गर्दा गुप्तवासमा रहेर श्रीमती र छोरासंग मात्रै दशैँ मनाउनुलाई राम्रो नराम्रो दुवै रुपमा मेयर सिंहले लिनु भएको छ ।

श्रीमती र ठ्लो छोरासहित आफु पनि कोरोना संक्रमित भए पछि घरमै आराम गरिरहेका सिंहले बिजयादशमीमा आफुले घर भित्रै आफनो परिवारसंग मात्र दशंै मनाउने बताउनु भयो । कोरोना महामारीको बेला अहिले संक्रमण पनि तीब्ररुपमा फैलिरहेकोले यस पटकको टीका आफनै परिवारसंग मनाउने र टीका लगाउन नगरबासीमा आग्रह गर्नुभएको छ ।

कपिलवस्तु नगरपालिकासहित देशभरी नै कोरोना संक्रमण फैलिएकोले यसबाट बच्न सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा उहाँको जोड छ । उहाँले घर बाहिर जानु पर्दा अनिवार्य मास्कको प्रयोग गर्न सेनिटाईजर र नियमित साबुन पानीले हात धुन समेत नगरबासीमा अनुरोध गर्नु भयो । कोरोना संक्रमणको बेला जनतासंग प्रत्यक्ष संपर्क र भेटघाटकाक्रममा संक्रमित भएका मेयर सिंहले कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउनु नै उत्तम उपाय भएको बताउनु भयो । बिजया दशमीको सबै नगरबासीमा शुभकामना दिदै उहाँले कारोना महामारी अन्त्य होस भन्दै देवी दुर्गा भगवतीमा समेत प्रार्थना गरेका बताउनु भएको छ । अहिले आफ्नो र आफनो परिवारको स्वास्थ्य अवस्था सुधार र सामान्य रहेको उहाँले बताउनु भयो । आफुले खानपान, शारीरिक ब्यायाम र आराम गरेर स्वास्थ्य लाभ लिईरहेको उहाँको भनाई छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस