५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

दाङमा संक्रमितले संक्रमितलाई टिका लगाइएर दशैँ मनाए



दाङ ।
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन् ।

संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए । ‘यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दशैँ मनाउन पाउनु भएन’, उनले भने, ‘संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हौं ।’
व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुनुहुन्छ । आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए । ‘म आफैँ पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु’, उनले भने ।

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन् । अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए । दशैँका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७ सोमबार ००:००  ७ : ०५ बजे