२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

वाणगंगाबाट समातिएका १२ जुवाडे जनही २५ हजार बुझाएर छुटे, केही चलेन नेताहरुको दबाब !



मायादेवी अनलाइन, वाणगंगा ।
कार्तिक ११ गते मंगलबार राति जुवाखालबाट समातिएका १२ जना जुवाडे छुटेका छन । कपिलवस्तुको वाणगंगा नगरपालिका बनगाईस्थित एक काष्ठ उद्योगमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

प्रहरीले प्रक्राउ गरेको चार दिन पछि जिल्ला प्रशासन कार्यालयमा शनिबार थुनछेक बहस सकिएसंगै जनही २५ हजारमा जुवाडे छुटेका हुन । यद्यपि उनीहरु प्रहरी खोरबाट छुटेपनि थप कानुनी कारबाही भने सकिएको छैन ।

इलाका प्रहरी कार्यालय पिपराले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ मा उल्लेख भएअनुसारको कारबाही माग गर्दै मुद्धा चलाएको छ ।

उक्त दफामा पहिलो पटक जुवा खेलेको अवस्थामा भेटिएर दोषि देखिए ३ महिना कैद वा ३० हजार जरिवाना वा दुवै सजाए हुनसक्ने उल्लेख छ ।

जुवातास सम्बन्धि मुद्धा प्रशासनले हेर्नुपर्ने भएकाले प्रशासनले उनीहरुलाई थुकचेक बहस पछि जनही २५ हजार धरौटी बुझाउन भनेको हो । पक्राउ परेका जुवाडे सबैले २५÷२५ हजार बुझाएको जनाइएको छ । प्रशासनले अब केही दिन पछि साक्षि प्रमाण र सुनुवाईको पक्रिया अगाडी बढाउने छ ।

जुवाडे पक्राउ गरेको रातदेखि नै नेताहरुले प्रशासनसम्म मुद्धा नचलाउन प्रहरीलाई निरन्तर दबाब दिएका थिए । तर, इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर दिनेश गुरुङले टेर पुच्छर नलगाए पछि छुटाउन दबाब दिने नेताहरु जिल्ल परेका छन ।

कांग्रेस, कम्युनिष्टका सक्रिय नेता जुवा खालबाट पक्राउ परेपछि समाजमा विभिन्न टिकाटिप्पणी भैरहेको छ । प्रहरीले जुवाखालबाट पक्राउ गरेपछि ती जुवाडेहरुले उल्टै प्रहरी सामु दादागिरी शैली देखाएका थिए ।

पक्राउ परेका जुवाडे वाणगंगा क्षेत्रका ठेकेदार, व्यापारी र दलका सक्रिय कार्यकर्ता रहेका छन् । यस क्षेत्रका कतिपय नेताका ज्वाई, ससुरा, सम्धी, भाई, जेठान लगायतको नाता पर्ने ती जुवाडेलाई तत्काल छाड्न प्रहरीलाई निरन्तर दबाब बढेको स्रोत बताउँछ । 

यो पनि… वाणगंगा क्षेत्रका १२ जुवाडे प्रहरी खोरमा, तत्काल छुटाउन नेताको निरन्तर दबाब

चाडवाडको बेला जुवातास खेल्नेक्रम बढ्न थालेपछि पिपरा प्रहरीले नियन्त्रणमा सक्रियता देखाएको छ । जुवा खेल्दा घरखेत सबै सखाप पारेर बुङ्गा हुनुबाट बचाउन प्रहरीले यसलाई निरुत्साहित गर्न खोजेपनि नेताहरुबाटै सहयोग नभएपछि प्रहरीको मन खिन्न भएको स्रोत बताउँछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ७ : ४७ बजे