४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगा क्षेत्रका १२ जुवाडे प्रहरी खोरमा, तत्काल छुटाउन नेताको निरन्तर दबाब



मायादेवी अनलाइन, वाणगंगा ।
दशैंको मौका पारेर जुवा खालमा बसेका १२ जना जुवाडे इलाका प्रहरी कार्यालय पिपराको थुनुवा कक्षमा रहेका छन् । वाणगंगाको बनगाईमा बसेर तास खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेर जुवाडेलाई मंगलबार राति पक्राउ गरेको थियो ।

१ लाख ७५ हजार ८ सय ५० रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरी पिपराको थुनुवा कक्षमा राखेर प्रहरीले थप कारबाहीको प्रक्रिया अगाडी बढाएको छ ।

विशेष सुराकीको आधारमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा जुवाडे प्रहरीमाथि उल्टै तथानामको गालीगलौजमा उत्रिएको स्रोतले जनाएको छ । जुवाडेले  प्रहरी आफ्नो लागि केही नभएको भन्दै पक्राउ गरेर थुन्न चुनौती दिएका थिए ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङसहितको टोलीले जुवाडेलाई तत्काल पक्राउ गरी कार्यालयमा ल्याउनुभएको थियो ।

विभिन्न राजनीति शक्ति र नेताहरुको नजिकका मान्छे भएको धम्की दिने ती जुवाडेलाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पक्राउ परेका जुवाडे वाणगंगा क्षेत्रका ठेकेदार, व्यापारी र दलका सक्रिय कार्यकर्ता रहेका छन् । यस क्षेत्रका कतिपय नेताका ज्वाई, ससुरा, सम्धी, भाई, जेठान लगायतको नाता पर्ने ती जुवाडेलाई तत्काल छाड्न प्रहरीलाई निरन्तर दबाब बढेको स्रोत बताउँछ । कांग्रेस, कम्युनिष्टका नेतासम्मले जुवाडेलाई छाड्न प्रहरीलाई दबाब दिइरहेका छन् ।

तर, पक्राउ गर्ने बेला जुवाडेले प्रहरी सामु दादगिरी देखाउँन खोजेपछि प्रहरी तत्काल छाड्ने पक्षमा छैन भने जसरी भएपनि कारबाही गराउने तयारीमा छ । कानुन अनुसार जुवा खेल्नु खेलाउनु गैरकानुनी मान्निछ ।

स्रोतका अनुसार चाडपर्वको बेला वाणगंंगा क्षेत्रमा जुवाको लाखौँ कारोबार हुने गरेको छ । विगत बर्षहरुमा जुवाडेसंग प्रहरीको मिलेमतो भएकै कारण यस्ता घटना बाहिर नआए पनि पिपरा प्रहरीको कमाण्ड सम्हाल्न आइपुग्नुभएका इन्स्पेक्टर गुरुङले सातो खुवाउनु भएको छ ।

यो पनि… वनगाईका जुवा खालमा प्रहरीको छापा, लाख बढी रकमसहित १२ जुवाडे पक्राऊ

प्रकाशित मिति : १३ कार्तिक २०७७ बिहिबार ००:००  ५ : ४३ बजे