राष्ट्रिय प्रतियोगितामा दोस्रो भएको निबन्धः ‘कोरोना कहरमा शिक्षा’


बर्षा भण्डारी ।
कोरोना एक आनुवंशिक संरचनामा RNA भएका विषाणुहरुको समूह हो , जुन सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तलाई इपिसेन्टर पारी हाल विश्वभर फैलिएको छ । यस भाइरसको वैज्ञानिक नाम सार्स—कोव—२ भए पनि यसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड—१९ भनिन्छ ।


आधुनिक वैज्ञानिक युगमा विकासले पखेटा हाली गगन मण्डलमा विचरण गर्दै गर्दा मानिसले प्रकृतिमाथि विजय प्राप्त गरेको शङ्खघोष गर्दै गर्दा मानव जातिमाथिको अस्तित्व नै सङ्कटमा परी सम्पूर्ण विश्व मानव जगतलाई त्राहीमाम् पार्दै कोरोना यत्रतत्र सर्वत्र फैलिएको छ । आणविक, आर्थिक, सैन्य तथा हातहतियारको उन्माद र दम्भको समेत नौनाडी गलाउने यस्तो परिस्थितिले विश्वका सम्पूर्ण क्षेत्र तहसनहस पारेजस्तै शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । हरेक तारबार छेकबार कुनै गजबारले रोक्न नसक्ने गरी तीब्र रुपमा विश्व विचरण गरेको भाइरसको नियन्त्रणमा विश्व जगत डटिरहेको छ तापनि अझैसम्म आशातीत सफलता प्राप्त गर्न नसकिनुले यो रोग मानव जगतका लागि अझ चोटिलो बन्न पुगेको छ । आर्थिक सङ्कट त रोग नियन्त्रणमा आएपछि समाधान गर्न सकिएला । व्यापार व्यवसाय, उद्योग, पर्यटन आदिमा पनि पुनर्जागरण अवश्य आउला तर रोग, भोक र त्रासका बीच गुज्रिएको अवस्थामा हुर्किएका आजका बालबालिका भोलिका सुनौलो विश्वका सिर्जनाका स्रोत कर्णाधारहरुको बाल मानसिकतामा परेको मनोवैज्ञानिक असरको समाधान (उपचार) के हुन सक्छ भन्ने प्रश्नको उत्तर जटिल छ । बालसुलभ चाञ्चल्यका साथमा स्वच्छ प्रकृतिमा पुतलीजस्तै स्वतन्त्र विचरण गर्दै सुनौलो भविष्यका सपनाहरु साकार गर्ने विद्यार्थीहरु पिंजडाको सुगाजस्तै लकडाउनका कारण बन्द कोठाभित्र निसास्सिँदै बस्न बाध्य छन् ।

औपचारिक तथा अनौपचारिक सबै खाले शिक्षण संस्थाहरु लामो समयदेखि बन्द छन् । विकास निर्माणमा ढोका लागेको छ । परिस्थिति अनुकूल छैन । नियामक निकाय दूरदर्शी बन्न नसकिरहेको अवस्था छ । बालबच्चाका अभिभावकहरु आयआर्जन तथा रोजगारी गुमाएर मुखमा माडको चिन्तामा रहँदा आफ्ना सन्ततिलाई मार्गदर्शन गराउन तथा सिर्जनात्मकतातर्फ डो¥याउन सकिरहेका छैनन् । हुन त बिना गुरुको शिक्षा कति फलदायी हुन सक्छ र ? निश्चित ढाँचामा निर्धारित विषयवस्तु विशिष्ट उद्देश्यका साथ गरिने शिक्षण सिकाइबाट नै विद्यार्थी निखारिँदै उच्च र अब्बल दर्जाको शैक्षिक जनशक्ति उत्पादन गर्न सकिन्छ, तर यसको लागि परिस्थिति सहज छैन । बिना शैक्षणिक क्रियाकलाप लकडाउनको साँघुरो घेराभित्र दिनदिनै केवल रोग, भोक, अभाव र कहाली लाग्दा निस्सार र निराशायुक्त समाचार हेर्दै बस्दा सिर्जनशील , चञ्चल विद्यार्थीहरुको सिर्जनामा खिया त लागेकै छ साथैे मन मस्तिष्क विक्षिप्त हुँदै मानसिक अपाङगतातर्फ पुग्ने डर छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु परीक्षाको अनिश्चिितताका कारण कयौँले मानसिक सन्तुलन गुमाउँदै आत्महत्याको बाटो समेत रोज्न पुगेका छन् । यस्तो अन्योल र जटिलताका बीचमा आफू सुरक्षित रहँदै र मनोसामाजिक स्वास्थ्य दुरुस्त राख्न भविष्यको चिन्ताको कारण कठिन छ । विद्यार्थीहरुमा उच्च शिक्षा र भविष्यको चिन्ताको बादल मन— मनमा मडारिएको छ । यसै बीचमा जिम्मेवार निकायले स्पष्ट निर्णय गर्न नसक्दा कपोलकल्पित र भ्रामक समाचार, सूचना आदि कुराहरु आधुनिक सञ्चार माध्यमहरुमा प्रचार हुँदा घायल मनहरु अझ बढी प्रताडित हुन पुगेका छन् ।
विद्यालयस्तरीय परीक्षाहरु सञ्चालन गरी नतिजा प्रकाशन समेत भइसकेको अवस्था रहे तापनि उच्च शिक्षाका परीक्षाहरु अझ अन्योलमा रहँदा विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न अवसरहरुबाट वञ्चित हुन पुगेका छन् । हुन त विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एस् इ.इ. परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ, तथापि विद्यार्थीहरु भने आफ्नो आत्मसम्मानमा आँच आएको महसुस गरेका छन् ।

शिक्षा जस्तो विशुद्ध सेवामूलक पेसामा संलग्न जनशक्तिको आर्थिक अवस्था अन्य पेसाका व्यक्तिहरुको तुलनामा कमजोर हुनाले र लामो समयदेखिको निजी शैक्षिक संस्थाहरु बन्द हुँदा तलब, भत्ता समेत प्राप्त गर्न नसकी शैक्षिक जनशक्ति शिक्षण पेसाबाट पलायन हुने अवस्था सिर्जना भएको छ । अन्य क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा पनि बौद्धिक जनशक्तिले लामो समयदेखि रोजीरोटी गुमाएर नयाँ विकल्पको खोजीमा भौँतारिदा भोलिका दिनमा शिक्षण संस्थाहरुले योग्य, दक्ष, अनुभवी शैक्षिक जनशक्तिको अभाव व्योहोर्नुपर्ने देखिन्छ । विद्यार्थीहरुलाई मार्गदर्शन गराउने मार्गदर्शकको अभाव शैक्षिक बजारमा पर्ने निश्चित छ । जसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उच्चकोटिका शैक्षिक जनशक्ति उत्पादन गर्ने निजी शैक्षिक संस्थाहरुमा ठूलो हलचल आउँदा समग्र देशकै शैक्षिक गुणस्तर खस्किने देखिन्छ । यस्तो हुन नदिन जिम्मेवार निकायबाट विज्ञहरु सँग छलफल गरी स्पष्ट र दूरदर्शी योजना बनाई अभिभावकको लगानी विद्यार्थीहरुको शैक्षिक सत्र र कर्मचारीहरुको आर्यआर्जनको व्यवस्था गरी मुखमा माड लगाउने अवस्था सिर्जना गर्नु जरुरी देखिन्छ । जसको लागि अविलम्ब वैकल्पिक पाठ्यक्रम पाठ्य योजना, विधि र शिक्षण पद्धति अवलम्बन गरिनु आवश्यक छ ।

शिक्षा एक विकासको आधार हो । शिक्षा नैसर्गिक र जन्मसिद्ध अधिकार हो । यो अधिकार महामारीसँग माग्न नमिले तापनि हरेक विपतले विनाशमात्र निम्त्याउँदैन, त्यसले रुपान्तरणको स्वर्णिम अवसर पनि प्रदान गर्दछ भन्ने कुरा ध्यानमा राखी वैकल्पिक शिक्षण सिकाइ प्रणालीको विकास गर्दै उपलब्ध प्रविधिको उपयोग गरी अविलम्ब शिक्षण क्रियाकलाप सञ्चालन गर्नुपर्छ । जसले कलिलो बाल मनोविज्ञानमा केही हदसम्म भए पनि सकारात्मक र रचनात्मक भूमिका खेल्ने छ । निष्कर्षमा कुनै पनि विपत्ति पूर्वयोजना अनुसार संकेत दिएर आउदैन, न त महामारीको असरको पूर्वानुमान गर्न सकिने अथवा महामारी पश्चात् नै मापन योग्य हुन्छ । यसले पारेका प्रभाव बहुआयमिक हुन्छन् । यसको असरमा न त कुनै विभेद हुन्छ, न त कुनै लगाम तर पनि हरेक विपत्तिले विनाश मात्र निम्त्याउँदैन, त्यसले विकासको आयमहरुलाई रुपान्तरण गर्ने स्वर्णिम अवसर पनि प्रदान गर्दछ । महामारीको अन्त्यसँगै हरेक क्षेत्रमा अर्थशास्त्रको “विग पुस” सिद्धान्त र पुनर्जागरणको आवश्यकता पर्दछ । जसबाट निरन्तरतामा क्रमभङ्गता पनि आवश्यक पर्दो रहेछ भन्ने कुरा मनन गर्दै हाम्रा शिक्षण संस्थाको भौतिक अवस्था, शैक्षिक योजना, नीति तथा पाठ्यक्रम, पाठ्यपुस्तक साथै सिकाइ पद्दतिमाथि पुनर्विचार गर्ने अवसर पनि प्राप्त भएको छ । “ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल” भनेझैँ जस्तोसुकै विषम परिस्थितिमा पनि जोखिमलाई व्यवस्थापन गर्न सके विद्यार्थीमा भएको प्र्रतिभाको मूल फुट्न सक्छ ।

(लेखक भण्डारीले जनता भ्वाइस नेपाल रामेछाप मन्थलीले आयोजना गरेको कोरोना कहरमा शिक्षा विषयक निबन्ध लेखन प्रतियोगीतामा १ सय ६६ प्रतियोगीमा दोस्रोस्थान हासिल गरेकि थिइन् । भण्डारी एभरेष्ट मावि वुटवल कक्षा १२ मा अध्ययनरत छिन ।)
सम्पर्क नं. ९८४७०३५४९७, ९८६७२२७९९९
इमेल- [email protected]

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस