७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शैक्षिक धरोहर तेजकुमार बौद्धाचार्यको निधन



कपिलवस्तु ।

शैक्षिक धरोहरका रुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ चोकबजारका ९० वर्षीय तेजकुमार बौद्धाचार्यको निधन भएको छ । रुपन्दहेहीको भैरहवामा ठुला छोरा अरबिन्दको घरमा बौद्धाचार्यको सोमबार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ ।

विभिन्न रोगबाट ग्रसित बौद्धाचार्यको भैरहवाका भीम अस्पतालमा एक महिना उपपचार पछि छोरा अरबिन्दको घरमा बस्दै आएका थिए । आफनो पुरा जीवन शिक्षा क्षेत्रमा बिताएका तेजकुमारलाई कपिलबस्तुमा नचिनिने शायदै कोही होला । ६५ बर्ष शिक्षण पेशामा बिताएका उनले कोभिड(१९को लक्ष्य डाउन अघि सम्म पढाउने गर्थे । शिक्षा क्षेत्रमा ठुलो योगदान भएकैले होला उनलाई सबैले मास्टर साहेव भनी सम्मानले सम्बोधन गर्ने गर्थे । बिक्रम सम्बत १९८८ मा तौलिहवा बजारमा उनको जन्म भएको थियो । अंग्रेज़ी, नेपाली समाज शास्त्रमा उनको बिशेष रुची थियो । उनी स्पष्ट बक्ता र निर्भिक थिए । नेपाली, नेवारी, अंग्रजी, उर्दु, अवधि र हिन्दी भाषाको ज्ञाता समते थिए ।

बिक्रम सम्बत २००८ सालमा तौलिहवा स्थित बुद्धपद्म माबिमा शिक्षण पेशा शुरु गरेका तेज कुमारले सो बिद्यालयमा ४२ बर्ष सेवा गरेका थिए । २०३८ साल देखि २०६७ साल सम्म कपिलवस्तु क्याम्पसमा पार्ट टाईम शिक्षण समेत गरेका थिए । भारतको उत्तर प्रदेश बोर्डबाट हाई स्कूल र नेपालको त्रिभुवन बिश्व बिद्यालयबाट बि।एड गरेका उनको अंगे्रजी बिषयमा बिशेष दखल थियो ।नेवार समुदायका तेजकुमारले आफनो मातृ भाषा मात्र होइन अबधी, नेपाली, हिन्दी, उर्दु फरर बोल्न र लेख्न जानेका थिए । अंगे्रजीमा पर्ल्स अफवाह पोइजि नामक किताब लेखेका उनले बिभिन्न पत्र पत्रिकामा फुटकर कबिता, लेख, हास्यव्यंग्य कृतिहहरु लेखेका थिए । ११ सन्तानका पिता बनेका उनका अझै ९ सन्तान जीवीतै छन् ।

जापान र भारत भ्रमण गरेका तेजकुमारले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार र दीर्घ सेवाबाट सम्मानित भएका थिए । उनलाई जिल्लामा एउटा जिबित ईतिहासकारुपमा लिइने गरिएको थियो । बुद्धको उपदेश र शिक्षालाई आफनो मार्गदर्शक मानेका उनले जीवनलाई संघर्ष, कार्यशीलता, परोपकार, नैतिकता, सदचरित्रताको रुपमा लिएका थिए ।

देशमा कुसंस्कार, प्रतिशोध, नैतिक शिक्षाको अभाव बढ्दै गएकोले नेपालको पाठ्यक्रममा शान्ति बिषय समावेश गर्नुपर्ने तेज कुमारले पटकपटक कुरा उठाएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ११ : ४२ बजे