१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुटवलमा पनि राखियो ‘डमी’ ट्राफिक प्रहरी



बुटवल ।

सडकमा ट्राफिक प्रहरी देखे मात्र ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढेपछि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बुटवलका विभिन्न स्थानमा ‘डमी’ ट्राफिक प्रहरी राखेको छ।

केही समयअघि भैरहवाका विभिन्न तीन स्थानमा राखिएका डमी ट्राफिक प्रहरीबाट सवारीचालक र पैदलयात्रीलाई समेत ट्राफिक नियमबारे सचेत गराउन सहयोग पुगेपछि बुटवलमा पनि ‘डमी’ ट्राफिक प्रहरी राखिएको लुबिम्नी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। बुटवलमा पहिलो चरणमा बढी भिडभाड हुने पुष्पलाल पार्क, राजमार्ग चौराह र यागीकुटीमा डमी ट्राफिक प्रहरी राखिएको पाण्डेले जानकारी दिए।

‘लुम्बिनी प्रदेशमा ट्राफिक जनशक्तिको अभाव छ। अहिले प्रदेशका १२ जिल्लामा ४९० जना ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण, पार्किङ व्यवस्थापन, सवारी चेकजाँचदेखि भिआइपीको आवतजावत र निगरानीमा खटिनुपर्ने अवस्था छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने, ‘एकजना ट्राफिक प्रहरीले करिब ८०० वटा सवारीसाधन हेर्नुपर्ने अवस्था छ। जनशक्ति अभाव भए पनि डमी ट्राफिक प्रहरीले पैदलयात्रु र सवारीचालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिवृद्धि गराउने छन्।’

सडकमा उभिएको डमी टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने डमी ट्राफिक प्रहरीका हातमा विभिन्न सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड राखिएका छन्। ट्राफिकको आँखा छलेर नियम उल्लंघन गर्नेहरुलाई पनि डमी ट्राफिकले सतर्क बनाउने पाण्डेले बताए।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रूपन्देहीको बुटवल–भैरहवा क्षेत्र, दाङको घोराही लमही, बाँकेको नेपालगञ्ज बढी जनघनत्व र सवारी साधानका धेरै चाप भएका क्षेत्र हुन्। यी क्षेत्रमा प्रत्येक वर्ष १५ देखि २० प्रतिशतका दरले जनघनत्व बढ्दै गएको छ। प्रदेशका १२ जिल्लामै सडक सञ्जालको पहुँच छ। विशेष गरी तराईका ६ जिल्लामा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिनुपर्छ, तर जनशक्ति भने चार वर्ष अगाडिदेखि थप गरिएको छैन।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  १२ : ५० बजे