१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आइपिएल २०२१ मा दश टिमबीच प्रतिस्पर्धा हुने सम्भावना



काठमाडौं ।
आइपिएल २०२१ मा दश टिमबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को आगामी २४ डिसेम्बरमा हुने वार्षिक साधारण सभामा आइपिएलमा दुई टिम थप्ने विषयमा छलफल हुने भएको हो ।

बिसिसिआईका सचिव जय शाहले ८९औं वार्षीक साधारण सभाका लागि तय गरेको एजेन्डामा आइपिएलमा दुई टिम थप्ने विषय पनि समावेश छ ।

साधारणसभाले आइपिएलमा टिम थप्ने विषयमा निर्णय गरे आगामी सिजनदेखि १० टिमबीच आइपिएलमा प्रतिस्पर्धा हुनेछ । भारतीय मिडियाहरूका अनुसार थप गर्न लागिएको एक टिम अहमदाबाद र अर्को गुजरातको हुनेछ ।

टिम खरिद गर्न बलिउड स्टार सलमान खान र मलायालम सिनेस्टार मोहनलाल इच्छुक भएको बताइएको छ। दुवै टिमको स्वामित्वका लागि आइपिएलले टेन्डर आह्वान गर्ने जनाइएको छ ।

आइपिएलमा १० टिम भएको अवस्थामा प्रतिस्पर्धाको फर्म्याट पनि परिवर्तन हुने सम्भावना छ । १० टिमलाई दुई समूहमा विभाजन गराएर खेलाउने सम्भावना छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ९ : ०४ बजे