११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

पौष १७ गतेबाट राजापानी सामुदायिक बनमा टिकट, कसले कति तिर्नुपर्छ ?



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा ३ मा रहेको राजापानी सामुदायिक वन प्रवेशमा अब टिकटको व्यवस्था गरिने भएको छ । पर्यापर्यटनको दिशामा अगाडि बढेको बनमा यही पौष १७ गतेबाट टिकटको व्यवस्था गरिन लागेको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बनका अध्यक्ष ढाकाराम अधिकारीले सो कुराको जानकारी दिनुभयो । बार्षिक १२ लाख आम्दानी गर्ने उद्धेश्यले राजापानीलाई थप व्यवस्थित बनाउन भन्दै अब टिकट लिन थालिएको उहाँले जानकारी दिनुभयो । पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी काम भैरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रति व्यक्ति २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । अपाङ्गता भएका, जेष्ठ नागरिकसंग शूल्क नलिइने बताउँदै विद्यार्थीलाई भने कार्डको आधारमा पचास प्रतिशत छुट रहने उहाँले बताउनु भयो । आगामी ५ बर्षमा बनबाट बार्षिक करोड बढी आम्दानी गर्ने लक्ष्यसहित पर्यापर्यटन कार्यक्रम अन्तर्गत बनभित्र प्रवेश गर्नेले तिर्नुपर्ने व्यवस्था गरिएको उहाँले प्रष्ट्याउनु भयो ।

त्यहाँ गएपछि राजापानीको सुन्दर दृश्य देख्न सकिने छ भने रमाउनका लागि रमणीय ठाउँ छन् । त्यहाँ भएका बाल उद्यान, पिङ, आराम कक्ष, चिडियाखाना, मूलको पानीबाट बनेका पोखरी लगायतमा आन्तरिक तथा बाह्य पर्यटकहरु रमाउन सक्ने अधिकारीले बताउनु भयो ।

यस्तै विभिन्न प्रजातिका बन्यजन्तु र चराचुरुङ्गी पनि देख्न सकिने वनले जनाएको छ । पछिल्लो समय सो क्षेत्र प्रदेशमै राम्रो पिकनिक गन्तव्यको रुपमा विकास हुँदै छ । आज भोली त्यहाँ दैनिक १० भन्दा बढी समुह वनभोजमा आइरहेका छन् । अहिले त्यहाँ गएर प्राकृतिक पोखरीको टापुबाट सेल्फी खिच्नेको भीँडभाड समेत देखिन्छ ।

No description available.

घुम्न आउनेको चाप बढेसंगै अब राजापानीमा अरबौँका योजना पनि पर्न थालेको सचिव सीता पौडेलले बताउनु भयो । आगामी दिनमा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाइने उहाँले बताउनु भयो ।

No description available.

प्रकाशित मिति : १२ पुस २०७७ आइतबार ००:००  ८ : २३ बजे