१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

छत्रकोट गाउँपालिकाका किसानलाई पेन्सन



गुल्मी ।
छत्रकोट गाउँपालिकाले किसानलाई पेन्सनको व्यवस्था गरेको छ। गाउँपालिकाको नवौँ गाउँसभाबाट स्थानीय तहभित्र व्यावसायिक रुपमा कृषि र पशुपालन गर्ने किसानलाई पेन्सन अर्थात् प्रोत्साहन भत्ता दिने गरी कार्यविधि पारित गरिएको छ।

गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाई गरिबी न्यूनीकरणमा सहयोग पुग्ने भन्दै यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले बताए।

किसानको वर्गीकरण

गाउँपालिकाले पेन्सन पाउने किसानलाई तीन वर्गमा विभाजन गरेको छ। ‘क’ वर्गको किसानलाई हरियो, ‘ख’ वर्गको किसानलाई नीलो र ‘ग’ वर्गको किसानलाई पहेंलो रंगको परिचयपत्रको व्यवस्था गरेको भण्डारीले जानकारी दिए। अहिले किसानको विवरण संकलनको काम भइरहेको र संकलनपछि पेन्सन तोकिने गाउँपालिकाले जनाएको छ।

पेन्सन पाउने किसानका लागि गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार काम गरेको हुनुपर्ने छ। कार्यविधिमा कृषितर्फका लागि निश्चित रोपनी, फलफूलका लागि निश्चित बोट र पशुपंक्षीतर्फ पनि संख्या तोकिएको छ। सोही आधारमा कृषकहरुलाई परिचयपत्र प्रदान गरिने छ।

गाउँपालिकाका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्ष संयोजक रहेको चार सदस्यीय अनुगमन समिति गठन गरिएको छ।

प्रकाशित मिति : १२ पुस २०७७ आइतबार ००:००  ७ : ४२ बजे