७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तारेखमा छुटे लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल



नवलपरासी ।
लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल शुक्रबार तारेखमा छुटेका छन् । किसानहरूको भुक्तानी नदिएको भन्दै बिहीबार प्रहरीले वीरगञ्जबाट उनलाई नियन्त्रणमा लिएर नवलपरासी ल्याएको थियो । अग्रवाल प्रहरी नियन्त्रणमा परेलगत्तै उद्योगले किसानहरूको भुक्तानी सुरू गरेको थियो ।

पहिलो चरणमा २ करोड बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक रूपमा ३० देखि ४० लाख रुपैयाँ किसानहरूलाई इ–सेवामार्फत् भुक्तानी सुरू गरेको छ । उद्योगले करिब ७ सय बढी किसानको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

अग्रवालले जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र उद्योगको नामसारी लगायत ऋणका लागि सुरु गरिएको बैंकिङ्ग प्रक्रिया सकेर किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएपछि एक हप्ताको तारेख दिएर छाडिएको प्रजिअ सागरमणि पाठकले जानकारी दिए ।

हप्ता दिनभित्र प्रक्रिाय पूरा गरेर भुक्तानी नगरे अग्रवाललाई कानुनअनुसार कारबाही प्रक्रिया थाल्नेसमेत प्रजिअ पाठकले बताए ।

प्रकाशित मिति : १८ पुस २०७७ शनिबार ००:००  १० : ५२ बजे