५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सहकारीको विकासविना नगर विकास हुँदैन, अब मर्ज हुन्छन्ः मेयर थारु



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले सहकारीहरुको विकासविना नगरपालिकाको विकास हुन नसक्ने बताउनु भएको छ ।

मुलुकमा सहकारीका कारण बिभिन्न आर्थिक, सामाजिक र विकास निर्माणका बिभिन्न कामहरु भइरहेको भन्दै नगर विकास गर्न पनि यहाँका सहकारीहरु समृद्ध र बलियो हुनै पर्ने उहाँले बताउनु भयो ।

वडा नम्बर ४ स्थित लालीगुराँस बचत तथा क्रण सहकारीको १४ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘अब नगरका सहकारीको विकास हुनै पर्दछ । सहकारी उचित तरिकाले फस्टाएनन् भने नगरको विकास नै हुँदैन । त्यसैले जनप्रतिनिधि पनि यस विषयमा एकमत छन् ।’

अब नगरका सहकारीमा मर्जर प्रकृया सुरु हुन लागेकाले एक सहकारी रोज्नु पर्ने स्थितिमा हेक्का राख्न पनि सहकारीकर्मीहरुलाई उहाँले आग्रह गर्नुभयो । मर्जर प्रकृयामा जाँदा अग्रणी भएर जान पनि लालीगुराँसलाई मेयर थारुले आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले पनि नगरमा सहकारी मर्जर प्रकया भएरै छाड्ने बताउनु भयो ।उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म अब सहकारीहरु अगाडी बढ्न नसक्ने उहाँको भनाई छ ।

No description available.

अध्यक्ष शालिकराम भुषालको अध्यक्षतामा सम्पन्न साधारण सभामा सहकारीका पूर्व अध्यक्ष एवं नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष शंकर पौडेल, पूर्वअध्यक्षहरु कृष्णराज अर्याल, मधु अर्याल, टेक बहादुर शाही लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमकै सन्दर्भमा उत्कृष्ट बाल बचतकर्ता, असल रिणी, असल कृषक, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर धनीका छोराछोरी लगायतलाई सम्मान गरिएको थियो ।

सहकारीमा ५ सय ५१ सदस्य छन् भने अहिलेसम्म गत आर्थिक बर्षमा ७२ लाख ७७ हजार ७ सय १८ रुपैयाँ आम्दानी गर्न सफल रहेको अध्यक्ष भुषालले बार्षिक प्रतिवेदनमार्फत् जानकारी गराउनु भएको थियो ।

सचिव शालिकराम आचार्यले सहकारीमा भएका महत्वपूर्ण निर्णहरु सुनाउनु भएको थियो । यस्तै कोषाध्यक्ष उमा रोस्कोटीले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक नमुना पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा सदस्यहरुले बिभिन्न जिज्ञासा राखेका थिए ।सदस्यहरुले छोटो समयमा सहकारीले राम्रै फड्को मारेकोमा खुसी पनि ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७७ शनिबार ००:००  ४ : २१ बजे