११ बुँदे घोषणा पत्र जारी गर्दै सकियो महासंघको साधारण सभा, अब नयाँ नेतृत्वको सरगर्मी सुरु


मायादेवी अनलाइन, वाणगंगा ।
११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारण सभा मंगलबार सकिएको छ ।

जिल्लाको सदरमुकाम तौलिहवामा मंगलबार सम्पन्न साधारण सभाबाट शाखाका विभिन्न सदस्यबाट प्राप्त सुझावको आधारमा शाखाले ११ बुँदे घोषणापत्र जारी गर्दै साधारण सभा सकिएको हो ।

राज्यको चौथो अंगको रुपमा हेरिने पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरु सम्बद्ध महासंघबाट पारित घोषणापत्रमा पत्रकारीताका क्षेत्रका बिभिन्न असहजताका बावजुत पनि संचार गृहको दिगो व्यवस्थापन र निरन्तरताका लागि स्थानीयतहरुसंग समन्वय र सहकार्य गर्न नेतृत्व समक्ष जोडदार माग गर्ने उल्लेख छ ।

जिल्लाका श्रमजिवी संचाकर्मीहरुको न्यूनतम पारिश्रमिक प्राप्त गरे नगरेको अनुगमन र त्यसको विवण तथ्याङ्क अध्यावधिक गर्नु पर्नेमा पनि घोषणापत्रले माग गरेको छ ।

श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन गर्दै श्रमजिवी पत्रकारहरुलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउन सम्वद्ध पक्षसंग पनि भेलाले माग गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनुभयो ।


अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अब विकास केन्द्रित पत्रकारितामा जोड दिदैं मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।

मुलुकलाई सिंगापुर बनाउनेसम्मका सपना बाडेपनि पूरा हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेता खनालले भाषणमा मात्र समृद्धि भन्दापनि काम गरेर देखाउने बेला आएको बताउनुभयो ।

पत्रकार कुनैपनि विचारको पक्षधरता हुनु हुँदैन भन्दा पनि पक्षधरता भित्र पनि निष्पक्षता खोज्न सके पत्रकारिता पेशा मर्यादित हुने कुरामा जोड दिनुभयो ।

साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले महासंघको कपिलवस्तु शाखाले देशमै उत्कृट काम गरेको भन्दै प्रशंसा गर्नुभयो । जिल्लाका तीन तीन स्थानमा भवन निर्माण गरेर महासंघलाई व्यवस्थित बनाउने काम कपिलवस्तु शाखाले गरेको भन्दै अरुले पनि यसको सिको गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाभित्रका कृयाशिल पत्रकारलाई प्रोत्साहन हुने गरी यस शाखाले कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन जोड दिनुभयो ।

फरक प्रसंगमा संघीयताको मर्म अनुसार तीन तहकै सरकार चल्नुपर्नेमा जोड दिनुभयो । मेचीमा बनाइएका कार्यक्रम महाकालीमा हुबहु लागु नगरि आफ्नो भूगोल अनुसार बनाउन सके मात्र संघीयताको मर्मले मेल खाने बताउनुभयो । स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका मिडियालाई कसरी व्यवस्थित तरीकाबाट सञ्चालन गर्ने हो भनेर सोच्नुपर्ने भन्दै मिडिया सवल भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रिय सचिव उदय जिएम, केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज बसन्त गिरी, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु लगायतले बोल्दै पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकार स्वयम चनाखो हुनुपर्नेमा जोड दिनुभएको थियो ।

महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको साधारणसभामा प्रस्तुत अध्यक्ष भुसालको बार्षिक नीति, कार्यक्रम, सचिव हरि अधिकारीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दिपक खड्काको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

अब नयाँ नेतृत्व चयनको चटारो सुरु

साधारण सभा सकिएसंगै महासंघ कपिलवस्तुको नयाँ नेतृत्व चयनको चटरो पनि सुरु भएको छ । वर्तमान अध्यक्ष डिलाराम भुसालले नयाँ नेतृत्व हस्तान्तरण गर्ने अनौपचारिक रुपमा बताउँदै आउनुभएको छ । अध्यक्ष भुसालले नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएपनि नयाँ नेतृत्वका लागि चार जना उम्मेद्वारको चर्चा चल्दै आएको छ ।

महासंघको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष पार्वती पाण्डे, सचिव हरि अधिकारी, पूर्व उपाध्यक्ष किरणमान ब्रजाचार्य र प्रदेश सस्य नन्दराम पौडेल आकांक्षी रहनुभएको छ । आगामी फाल्गुण पहिलो हप्ता हुने निर्वाचनमा चार जना बीच प्रतिस्पर्धा हुने आंकलन छ । यद्यपि आकांक्षी चार जना भएपनि पार्टीले जुन उम्मेदवारलाई टिकट दिन्छ उही उम्मेदवार बन्ने निश्चित छ ।

महासंघ सबै बिचार समूहको छाता संगठन भएपनि पार्टी निकट पत्रकार संगठनले यसको प्रतिनिधित्व गर्दै आएका छन् । अध्यक्षका आकांक्षी अधिकारी प्रचण्ड–नेपाल निकटका पत्रकार हुनुहुन्छ भने पाण्डे र पौडेल ओली समूहका हुनुहुन्छ । ब्रजाचार्य भने कांग्रेस निकट प्रेस युनियनका हुनुहुन्छ ।

हालका अध्यक्ष भुसाल यसभन्दा अगाडी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएकाले यो पालि पनि सहमतीको प्रक्रिया थाल्ने पत्रकारका नेताहरु बताउँछन् । यद्यपि नेकपा भित्रको फुटको असरले यो पालि महासंघको शाखा कपिलवस्तुमा चुनाव हुने पक्कापक्की रहेको स्रोतको दाबी छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस