२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भारतले टिकटकसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि लगायो प्रतिबन्ध



एजेन्सी ।

भारत सरकारले टिकटक र वि च्याटसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि प्रतिबन्धको घोषणा गरेको छ। सोमबार उसले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको जनाएको छ।
भारतको यो निर्णय दुई साता अगाडि चीनसँगको सीमाक्षेत्रमा रहेको गलवान उपत्यकामा भएको हिंस्रक झडपमा २० सैनिकको मृत्यु भएपछि आएको हो। घटनाका कारण हाल दुबै देशको दशकौंपछि गम्भीर मोडमा पुगेको ठानिएको छ।

घटनामा भएको चिनियाँ हताहतीको भने ‍सार्वजनिक हुन सकेको छैन। भारतले घटनाको चीनसँग बदला लिन जनाउँदै आएको भएपनि आर्थिक र सैन्य हिसाबले चीन भन्दा धेरै पछाडी रहेको भारतसँग बदला लिनका लागि धेरै विकल्प छैन। चिनियाँ टेलिकम्युनिकेसन तथा सामाजिक संजाल कम्पनीले आफ्ना उत्पादनका लागि भारतको विशाल बजार र त्यसको सम्भावनामा चासो देखाउँदै आएका छन्। भारतको ५० प्रतिशत जनसंख्या इन्टरनेटमा पहुँचमा रहेको छ। दि न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। यी एपहरू भारतीय मोबाइल प्रयोगकर्तामाझ एकदमै लोकप्रिय रहँदै आएका छन्।

विज्ञहरूले विश्वका कुल टिकटक प्रयोगकर्तामध्ये झण्डै एक तिहाई प्रयोगकर्ता भारतबाट रहेको बताएका छन्। चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गर्दै भारतको विद्युतिय र संचारप्रविधि मन्त्रालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा यी चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको जनाएको छ। यी तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ता विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छु, सो विज्ञप्तिमा भनिएको छ।
चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ४ : ५९ बजे