२६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

क्रिस्टलसँग रोकियो आर्सनल



काठमाडौं ।
इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन गरिरहेको आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। बिहीबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो।

आफ्नै मैदानमा भएको खेलमा आर्सनलले क्रिस्टलसँग बराबरी खेल्दै अंक बाँडेको हो। अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेर पनि आर्सनलले गोल गर्न सकेन। जारी सिजनमा आर्सनलले निकै खराब प्रदर्शन गरिरहेको छ।

आर्सनलले खेलको १८ खेलमध्ये सात खेलमा जित निकाल्दा आठ खेलमा हार व्यहोरेको छ भने तीन खेलमा बराबरी खेलेको छ। २४ अंक बनाएको आर्सनल लिगको ११ औं स्थानमा छ। आर्सनलले पछिल्लो पाँच खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार व्यहोर्दे लिगमा लयमा फर्किने संकेत दिएको थियो। तर तुलनात्मक रुपमा कमजोर मानिएको क्रिस्टलसँग आर्सनल बराबरीमा रोकिएको हो। क्रिस्टलको भने १८ खेलबाट २३ अंक छ।

लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर युनाइटेड छ। उसको १७ खेलबाट ३६ अंक हुँदा लिगको दोस्रो स्थानमा रहेको साविक विजेता लिभरपुलको १७ खेलबाट ३३ अंक छ। १६ खेलबाट ३२ अंक बनाउँदै लिगको तेस्रो स्थानमा म्यानचेस्टर सिटी रहँदा ३२ अंक नै जोडेको लेस्टर सिटी लिगको चौथौं स्थान छ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ८ : ३६ बजे