२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

रियललाई पराजित, एथ्लेटिक फाइनलमा



काठमाडौं ।
रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिक क्लब स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिक क्लबले रियल मड्रिडलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

रियललाई पराजित गर्ने क्रममा एथ्लेटिकका राउल गार्सियाले दुबै गोल गरे। रियलका लागि भने करिम बेन्जिमाले एक गोल फर्काए। पहिलो हाफमै २–० गोल पछि रहेको रियलले दोस्रो हाफमा एक गोल फर्काएपनि एथ्लेटिकलाई रोक्न सकेन। खेलको १८ औं मिनेटमा गार्सियाले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाएका थिए।

खेलको ३८ औं मिनेटमा पेनाल्टीबाट गार्सियाले अर्को गोल थप्दा रियलमाथि एथ्लेटिकले २–० को अग्रता बनाएको थियो। पहिलो हाफमै स्तब्ध बनेको रियलले दोस्रो हाफमा भने गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो। ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ गोलको स्थितिमा ल्याए। तर बाँकी समयमा रियलले गोल गर्न नसक्दा हार व्यहोरेको हो।

अब उपाधिका लागि एथ्लेटिक क्लबले बार्सिलोनाको सामना गर्नेछ। बार्सिलोना भने यसअघि नै रियल सोसिडाडलाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल १८ तारिखमा हुनेछ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ८ : ३९ बजे