१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इन्टर मिलानसँग युभेन्टस पराजित, उपाधि होडमा लाग्यो धक्का



एजेन्सी ।
साबिक विजेता युभेन्टस यो सिजन उपाधि होडमा बलियो रुपमा प्रस्तुत भइरहेको इन्टर मिलानसँग पराजित भएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलानले युभेन्टसलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानको जितमा अटुरो भिडाल र निकोलो बारेलाले गोल गरे । भिडालले १२ औँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए । सो खेलका लागि सहयोग गरेका बारेलाले बास्तोनीको सहयोगमा ५२ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरेका हुन् ।

युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्ने प्रयास गरेका थिए । उनले गरेको एक गोल अफसाइडका कारण मान्य भएन ।

जितपछि दोस्रो स्थानको इन्टर मिलानको १८ खेलबाट ४० अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको एसी मिलानको पनि ४० अंक नै छ । पराजित भएको युभेन्टस १७ खेलबाट ३३ अंकसहित पाँचौँ स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा नापोलीले फियोरेन्टिनालाई ६–० र क्रोतोनीले वेनेवेन्तोलाई ४–१ ले पराजित गर्दा सासुओलो र पार्माले १–१ तथा एट्लान्टा र जेनोआले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  ७ : ५३ बजे