१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तराईका जिल्लामा चिसो धेरै बढ्यो, सर्वसाधारण दाउरा र गुँइठाको आगोमा निर्भर



काठमाण्डौँ ।

तराईमा जिल्लामा चिसो धरै बढेको छ । हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ ।

अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँकाअनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही शीतलहरको जोखिम रहेको छ ।

बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला कपिलवस्तु, रुपन्देही, दाङ, महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् । कपिलवस्तुमा अहिले घाम नै देखिन छाडेको छ भने विहानै चिसो र शितलहर हुन्छ ।

चिसो बढेपछि कपिलवस्तु, महोत्तरी लगायतमा दाउरा तथा गुइठामा आगो बालेर, ताप्नेहरु बढेका छन् । यस्तै, चिसो बढेपछि बिभिन्न जिल्लाका पालिकाहरुले पनि दाउरा बाँड्न थालेका छन् ।मुखयगरी विपन्न वर्गका सर्वसाधारण यसको मारमा परेका छन् । ओढ्ने ओछ्याउने राम्रा नभएपछि दाउरा, गुइँठा र उखु किसानका पातमा बालेर त्यसैको साहारामा किसान छन् ।

मौसमविद्ले तराईका जिल्लामा शीतलहरकै सम्भावना रहेकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । मौसमविद्ले तराईसँगै देशभर चिसो बढ्ने पूर्वानुमान गरेका छन् । उत्तर पश्चिम वायुको प्रभावका कारण देशका धेरै ठाउँमा चिसो हावा चल्न थालेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच, वर्षा र हिमपात गराउने पश्चिमी वायुको शक्तिशाली प्रणाली नेपाल प्रवेश नगर्दा यसपालि हिउँ समेत राम्ररी परेको छैन । हिउँ नपर्दा सेता हिमाल काला हुँदै गएका छन् । हिउँ पर्न छाडेपछि लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  ९ : २२ बजे