१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

स्त्री तथा प्रसुति विशेषज्ञबाट कपिलवस्तु सामुदायिक अस्पतालमा सुरु भयो ‘सुत्केरी सेवा’



सिर्जना पौडेल, चार नम्बर ।

बाणगंगास्थित कपिलबस्तु सामुदायिक अस्पतालमा सुरक्षित गर्भपतन तथा प्रसुति सेवा सुरु भएको छ । लामोसमयदेखि अस्पतालमा प्रसुति सेवाको माग भए पनि पुरा हुन नसकेको अवस्थामा सोमबारबाट जनताको त्यो चाहाना पनि अस्पतालले पुरा गरेको हो । नगरपालिकामा भरपर्दो प्रसुति सेवा नभएर आमा तथा दिदीहरुले बाहिर जाने बाध्यताले दुख पाएको अवस्थामा नगरप्रमुख मंगलप्रसाद थारुले सेवाको उद्घाटन गरेपछि सर्वसाधारण खुसी भएका छन् ।

सेवाको शुभारम्भ गर्दैै मेयर थारुले अस्पतालले नगरमा आवश्यक गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास गर्नुभयो । समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालको महत्वपूर्ण भूमिका रहेको भन्दै नगरप्रमुख थारुले नगरले पनि सक्दो सहयोग गर्ने बताउनु भयो । नगरपालिकामातहतमा रहेको पिपरा अस्पताल र सामुदायिक अस्पताललाई नगरले विशेष महत्व दिएर हेर्ने पनि उहाँको भनाई छ ।

उहाँले अस्पतालका लागि विशेष योगदान दिनुभएका स्वर्गीय शेरबहादुर क्षेत्रीलाई पनि स्मरण गर्नुभयो । अब नगरमा ब्लड बैङ्क पनि सञ्चालन हुन लागेको भन्दै मेयर थारुले रगत अभावमा नगरमा कसैले अकालमा मृत्युवरण गर्न नपर्ने बताउनु भयो ।

बडा नम्बर एक र चारका वडाअध्यक्ष बालकुमारी पन्थ (अधिकारी) र गणेश क्षेत्रीले समुदायस्तरमा उपचार गर्ने सबालमा अस्पतालको विशेष भूमिका रहेको बताउनु भयो । उहाँहरुले अस्पतालमा थप विशेषज्ञ डाक्टरको व्यवस्था गरी उचित पारिश्रमिकको व्यवस्था गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

अस्पतालका स्त्री तथा प्रसुति विशेषज्ञ डाक्टर नविन तिरुवाले असप्तालमा दिइने सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो । भरपर्दो प्रसुति सेवा हुँदैन कि भन्ने आशंका नपाल्न पनि उहाँले आग्रह गर्नुभयो । ल्याव तर्फ सबै सेवा रहेको बताउँदै बुटवलमा पाइनेजस्तै प्रभावकारी सेवा अस्पतालले दिने उहाँको भनाई छ । डाक्टर तिरुवाले अप्रेसनको लागि पनि सबै सुविधा भएकाले ढुक्क भई आउन विरामीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष रामजी सेन, सञ्चालक समितिका निर्वतमान कार्यवाहक अध्यक्ष संकर पाण्ड, कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतले मन्तव्य दिदै धेरै बर्षपछिको योजना सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो । अध्यक्ष सेनले अब अस्पतालमा डेन्टल र अर्थाेसम्बन्धी सेवा दिने तयारी भएको सुनाउनु भयो ।

सिदार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, भुपु सैनिक खानेपानी तथा सरसफाई समितिका अध्यक्ष राजेन्द्र वीक्रम शाह, टोल विकास समितिका अध्यक्ष दिनेश क्षेत्री सहभागी कार्यक्रमको सञ्चालन अस्पतालका महासचिव पोम नारायण पौडेलले गर्नुभएको थियो ।


अस्पतालमा अहिले माइनर अप्रेसन, २४ घण्टा इमरजेन्सी सेवा तथा ओपिडी लगायतका सेवाहरु रहेका छन् । अस्पतालले आगामी दिनमा थप सेवाहरु पनि वृद्धि गर्दै लैजाने योजना राखेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले बताउनु भयो।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  ३ : ५२ बजे