१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालुवाटारमा भएको प्रहरी दमनप्रति कपिलवस्तुका आधा दर्जन संस्थाको विरोध



मायादेवी अनलाइन, चार नम्बर ।
प्रतिनिधिसभा विघटनविरुद्व नागरिक समाज र अधिकारकर्मीहरु माथि माघ १२ गते बालुवाटार क्षेत्रमा गरेको विरोध प्रदर्शन तथा पदयात्रामा प्रहरीले गरेको निर्मम दमन प्रति कपिलवस्तुका विभिन्न संघ संस्थाहरुले गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।

नागरिक समाजको आवाज दवाउने उद्देश्यले नागरिक एंव अधिकारकर्मीहरु प्रदर्शन उपर भएको दमन लोकतन्त्र र मानव अधिकार माथि ठाडो प्रहार भएको उनीहरुको ठहर छ ।

जिल्लाका शान्तिका लागि नागरिक संजाल कपिलवस्तु, नेपाल पत्रकार महासंघ कपिलवस्तु, गैर सरकारी संस्था महासंघ, नेपाल मानव अधिकार संगठनले संयुक्त विज्ञप्ति निकालेर प्रहरी दमनको विरोध गरेका हुन् । उक्त कदमको विरोधमा अधिकारकर्मी तथा नागरिक अगुवा पोम नारायाण पौडेल, दोलख पछाई र द्रोण सुवेदी पनि उभिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमबार गरिएको नागरिक आन्दोलन माथि गरिएको हस्तक्षेपले सरकारको चरित्र माथि शंका उब्जाएको छ । नेपाल लोकतान्त्रिक मुलुक हो । शान्तिपूर्ण भेला हुने, जुलुस वा विरोध प्रदर्शन गर्ने नागरिकको हक अधिकार हाम्रो संविधानले नै प्रत्याभूत गरेको छ।तर नागरिक समाज र अधिकारकर्मीको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले गरेको बर्बर दमनले सरकारले फरक बिचारहरुलाई सुन्नै नचाहने र निरंकुशताको बाटो तर्फ लागेको हामीहरुलाई महसुस भएको छ ।’

सरकारका यस प्रकारको रबैयाले नेपाली जनताले लामो समय सम्म गरेको राजनैतिक, समाजिक, नागरिक आन्दोलनबाट प्राप्त उपल्बधीहरु गुम्ने भए उत्पन्न भएको पनि जनाइएको छ । यस्तै यस तर्फ नेपाल सरकार र सम्पुर्ण राजनैतिक दलहरुलाई गम्भीर हुन अनुरोध गरिएको छ ।

साथै प्रतिनिधी सभा विगठन र पछिल्ला राजनैतिक उथल पुथलहरुले नेपाली जनताको रगत र पसिनाबाट उपलब्धीहरु शान्ति, स्थायित्व र नागरिकका मौलिक अधिकारहरु समेत हनन हुने अवस्था उत्पन्न भएको उनीहरुको ठहर छ ।

यस संकटपुर्ण अवस्थामा लामो संघर्षबाट उपलब्धीहरुको रक्षा, नागरिक अधिकारहरुको सरक्षण, शान्ति र स्थायीत्वको लागि सम्पुर्ण नेपाली जनता, नागरिक समाज, अधिकारकर्मीहरुलाई एकबद्ध भई नागरिक आन्दोलनमा सहभागिताको लागि अपिल गर्दछौ, भनिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ६ : ५४ बजे