१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रुकुम पूर्वको तातोपानीमा नुहाउन आउनेको संख्या बढ्दो



रुकुम पूर्व ।
सिस्ने गाउँपालिका–४ स्थित सानीभेरी किनारमा रहेको धाउने नजिकैको तातो पानीमा नुहाउने संख्या बढ्न थालेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि चिसो बढेसँगै तातोपानीमा नुहाउन आउनेको संख्या बढ्न थालेको हो ।

तातोपानीमा मंसिरदेखि माघसम्म बिहानदेखि बेलुकासम्म नुहाउने गर्दछन्। विभिन्न ठाउँबाट नुहाउनुका साथै लुगा धुन तातोपानी पुग्ने गरेका छन् ।

यहाँ बाह्रै महिना प्राकृतिक रूपमै तातोपानी बगिरहेको हुन्छ । तातोपानीमा नुहाउँदा छालाको रोग निको हुने जनविश्वास छ । यससँगै जाडोमा नुहाउनु स्वास्थ्य प्रदायक फाइदा रहेकाले नुहाउनेको संख्या बढ्दो रहेको सिस्ने‐४ का वडाध्यक्ष दलराज घर्ती मगरले बताए ।

नुहाउनेहरू बढ्दै गए पनि तातोपानीको संरक्षण तथा व्यवस्थापनमा भने सरोकारवाला निकायको ध्यान नगएको स्थानीयहरुको गुनासो छ । यता स्थानीय सरकारले भने बेला–बेलामा संरक्षणकोे काम गरिए पनि सानीभेरी नदीको बहावले मिचेर बगाएको बताएको छ । चालु आर्थिक वर्षमा पनि तातोपानी संरक्षणका लागि गाउँपालिकाले सात लाख रुपैयाँ बजेट विनियोजन रहेको निमित्त प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ६ : ४८ बजे