७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

केपी ओलीले श्री ३ बन्ने महत्वकांक्षा राखेर संसद विघटन गरेः विष्णु पन्थी



मायादेवी अनलाइन, चार नम्बर ।
लुम्बिनी प्रदेश सांसद तथा नेकपाका नेता विष्णु पन्थीले प्रधानमन्त्री केपी शर्मा ओलीमा श्री ३ बन्ने महत्वाकांक्षा बढेको बताउनुभएको छ । जननिर्वाचित प्रतिनिधिहरुको थलो संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै यो हठात् नभई सुनियोजित भएको सांसद पन्थीले दाबी गर्नुभयो ।

‘प्रधानमन्त्री ओलीले सुरु देखिनै राज्यका सबै महत्वपूर्ण अंग र निकायलाई आफु मातहत ल्याउनुभएको थियो । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले शनिबार राखेको कार्यक्रममा बोल्दै उहाँले थप्नुभयो, “अहिले आएर प्रतिनिधिसभा नै भङ्ग गर्ने काम गर्नुभयो । यो हठात् होइन सुनियोजित नै थियो ।”

७० बर्षे इतिहास पछि प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धी गुम्ने खतरा रहेको भन्दै यसका विरुद्धमा सबै राजनीतिक शक्ति, मानव अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार एक जुट भएर अगाडी बढ्नुपर्नेमा सांसद पन्थीले जोड दिनुभयो । विदेशीको आड भरोसामा उपलब्धीलाई ध्वस्त पार्ने खेल भएको भन्दै सबैलाई गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो ।

संसद विघटन र नेकपा भित्रको विवादलाई एकै शिराबाट हेर्न नहुनेमा जोड दिदैं उहाँले नेकपा सग्लो रहन्छ कि रहन्न भन्ने चिन्ता भन्दा पनि संविधान बाँच्न कि बाँच्दैन भन्ने रहेको बताउनुभयो । प्रधानमन्त्री ओली संविधान खारेज गर्नेसम्मको अभियानमा रहेको भन्दै उहाँले त्यसको विरुद्धमा सबै हातेमालो गरी अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।

संसद विघटन गरेपछि सरकार काम चलाउ हुनुपर्नेमा प्रधानमन्त्री ओलीले अहिलेपनि धमाधम मन्त्री नियुक्त, कर्मचारी सरुवा, ठूला आयोजनाको उद्घाटन गरेर संविधान विपरित काम गरेको बताउनुभयो । ‘ओलीमा चुनाव गराउने मनशाय भएको भए आफ्नो सरकार काम चलाउ भएको घोषणा गर्थे । संसद नै विघटन गरेपछि सरकार काम चलाउनु हुनुपर्ने हो अहिले त्यसो भएको छैन्, ओलीले धमाधम मन्त्री नियुक्त, कर्मचारी सरुवा गर्दै हिडेका छन् । हामी आफै बुझौ उनी कति निरङ्कुश बन्न थालेका छन्’ नेता पन्थीले भन्नुभयो ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ७ : १३ बजे