५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उत्तमनगर आधारभूत स्वास्थ्य चौकीले अब आफ्नै भवनबाट सेवा दिने



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ मा सोमबार उत्तरनगर स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भव्य समारोहको बीचमा नगर प्रमुख मंगल प्रसाद थारुले सो भवनको रिवन काटेर उद्घाटन गर्नु भएको हो ।

वडामा रहेको स्वास्थ्य चौकीको आफ्नो भवन नहुँदा सेवाग्राहीले दुख पाएका थिए भने स्वास्थ्यकर्मीलाई समेत काम गर्न कठिन भएको थियो । सुविधासम्पन्न यो भवनबाट सेवा दिन थालेपछि अब वडाबासीलाई सहज हुने भएको छ ।

१० कट्ठा जग्गामा करिब ४० लाखको लागतमा सो भवन बनेको वडाध्यक्ष बालकुमारी पन्तले बताउनु भयो । १० कट्ठा जग्गामध्ये २ कट्ठा जग्गा आमा समुहले दिएका हुन् । निर्माण सुरु भएको करिब ६ महिनामा भवन निर्माण सम्पन्न भई सेवा सुरु भएको वडाध्यक्ष पन्तले बताउनु भयो ।

यसैबीच उत्तमनगर आधारभुत स्वास्थ्य चौकीले आफ्नै भवनबाट सेवा दिन थालेपछि वडाबासी खुसी भएका छन् । सामान्य स्वास्थ्य समस्या आउँदा पनि वडा बाहिर उपचार गर्न जाँदा समस्या भएको भन्दै अब छिटो र छरितो तवरले सेवा पाइने भन्दै वडाबासी खुसी भएका हुन् । भवनको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख थारुले वडाध्यक्ष र उत्तम नगरबासीलाई बधाई दिनुभयो ।

नगरका हरेक वडामा अहिले आधारभुत स्वास्थ्य चौकीका आफ्ना भवन बनिरहेको भन्दै यसले सहज र सजिलो तवरले नगरवासीले सेवा पाउने विश्वास ब्यक्त गर्नुभयो । स्वास्थ्य चौकी बन्ने मात्र ठुलो कुरा नभएको भन्दै त्यहाँ गएर जनताले सेवा लिए मात्र भवन बनेको औचित्य पुरा हुने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले पनि अब जनताले सजिलो तवरले सेवा लिनेमा विश्वास ब्यक्त गर्नुभयो । स्वास्थ्य चौकीप्रति वडाबासीको उत्साह र जाँगर देख्दा आफू प्रभावित भएको बताउँदै यो जाँगरले स्वास्थ्य सेवा प्रदानमा कुनै समस्या नहुने बताउनु भयो ।

फरक प्रसंगमा उहाँले पिपरा अस्पतालबाट भने जस्तो सेवा दिन नसकिएको स्विकार गर्दै प्रशस्त सुधार आवश्यक रहेको बताउनु भयो । उत्तम नगरको जाँगर पिपरा अस्पतालमा पोखे मात्र त्यहाँ सुधार हुन सक्ने उहाँको भनाई छ । कार्यकारी प्रमुख डाँगीले नगरमा ३ बर्षसम्म डम्पिङ साइट र बस पार्क नबन्नु दुखद भएको बताउनु भयो ।

कार्यक्रममा नगरका शिक्षा युवा तथा खेलकुद विभागका उपसचिव बाबुराम भट्टराई, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्नु भएको थियो । वडाध्यक्ष पन्तको अध्यक्षता, टोल विकास समिति सदस्य बुद्धि सागर बेलबासेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दर्जन बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७ आइतबार ००:००  ७ : २० बजे