८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रथम सूर्योदय कपको उपाधि कसले चुम्ला ? मैदानमा आज कपिलवस्तु र नवलपरासी



चन्द्रशमसेर न्यौपाने, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी ‘प्रथम सूर्योदय खुल्ला फुटवल प्रतियोगिता’ को उपाधि भीडन्त आज हुँदै छ । सूर्योदय सामाजिक विकास संस्था वडा नम्बर १ बुङ्चीले आयोजना गरेको प्रतियोगिताको उपाधि भीडन्तमा कपिलवस्तुबाट प्रतिनिधित्व गरेको आयोजक सूर्योदय र नवलपरासीबाट प्रतिनिधित्व गरेको भैरव एफसी भीँड्न लागेका हुन् । यी २ टोलीबीचको खेल सिद्धार्थ रंगशालामा आज दिउसो २ बजे सुरु हुने छ ।

यी दुवै टोली उत्कृष्ट लयमा रहेका कारण कसले उपाधि जित्छ त्यसै भन्न सकिन्न । यसअघि भएका सुरु देखिकै खेलमा दुवै टोलीले सनसनीपूर्ण जित निकाल्दै उपाधि नजिक आएका हुन् । भैरव एफसी नवलपरासीले सेमिफाइनलमा न्यू युथ युनियन पाल्पालाई २–० ले पराजित गरेको थियो भने आयोजकले हिमालय जनशक्ति रुद्रमाथि पनि २–० कै जित हासिल गरेको थियो । दुवै टोलीमा आज राष्ट्रिय खेलाडीको पनि सहभागिता हुने भएकाले प्रतियोगिताकै रोचक भीडन्त आज हुने खेलप्रेमीले अपेक्षा गरेका छन् ।

उत्कृष्ट लयमा देखिएको आयोजकलाई आज घरेलु दर्शकको साथ मनोबलको रुपमा रहने छ । अर्कोतर्फ घरेलु मैदान र दर्शकको दबाबमा आयोजकलाई जित्नै पर्ने थप दबाब आज हुने छ । यता नवलपरासीले घरेलु मैदानमै आयोजकलाई हराएर आफ्नो रवाफ देखाउन चाहन्छ ।

सूर्योदयको तुलनामा नवलपरासीको अग्रपंति निकै तेज छ । त्यस कारण गोल रोक्न आयोजकलाई हम्यहम्य नै हुने छ । यता तुलनात्मक रुपमा भैरवको भन्दा सूर्योदयको रक्षापंति बलियो छ ।
सेमिफाइनलमा म्यान अफ दि म्याच बनेका नवलपरासीकाजर्सी नम्बर ७ का खेलाडी रोहित थारुलाई रोक्न सूर्योदयलाई हम्य हम्य हुने छ भने खतरनाक मानिएका आयोजकका जर्सी नम्बर १४ का तीव्र गतिका खेलाडी रोसन सेनलाई रोक्न पनि भैरवलाई कठिन हुने छ । रोशन फाइनल अघि २ पटक म्यान अफ म्याच घोषित भइसेका छन् । आयोजक उपाधिनजिक आउनुमा पनि रक्षा पंतिको महत्वपूर्ण हात छ । रुद्रपुरसंग जित हासिल गर्दा आयोजकको रक्षा पंति निकै बलियो देखिन्थ्यो ।

आयोजकका अनुसार सूर्योदयसंग आज अनुभवी २ खेलाडी हुने छैनन् । त्यसको फाइदा उठाउने मौका भैरवलाई हुने छ । तर पनि आयोजकले आफूहरु बलियो स्थितिमा नै रहेको बताउँदै उपाधि जित्ने मायादेवीसंग बताए । विजेताले नगद रु १ लाख १ हजार १ सय ११ पाउने छ भने उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । खेलमा बिभिन्न जिल्लाका १२ टोलीले भाग लिएका थिए । फाइनल अघि आज आयोजक र पत्रकारबीच मैत्रीपूर्ण खेल हुने छ । यो खेलबाट उठेको रकमले मृगौला पीडितलाई सहयोग गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७ बुधबार ००:००  ७ : ४७ बजे