८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साढे ७ हजार कामदार दक्षिण कोरिया पठाइँदै, यो वर्ष पनि परीक्षा अन्योलमा



काठमाण्डौँ ।
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कोरोना संक्रमणपछि ‘लेबर कन्ट्र्याक्ट’ आएर रोकिएका कामदार पठाउन सुरु गरिने जनाएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरी कोरिया रोस्टरमा नाम दर्ता भएका, सीसीभीआई लिएका साढे ७ हजार कामदार चाँडै पठाउने विषयमा छलफल र तयारी भइरहेको शाखाले जानकारी दिएको छ ।अन्तर्राष्ट्रिय उडान सहज हुँदै गएपछि गत भदौदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सबै श्रम स्वीकृति सरकारले खुलाएको थियो ।

सन् २०१९ देखि कोरियन भाषा उत्तीर्ण गरेका कामदार जान पाएका छैनन् । कोरोनाका कारण प्रक्रिया पुगेका करिब १० हजार नेपाली कोरिया रोजगारीबाट वञ्चित भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक ईन्द्र गौतमले जानकारी दिए ।

कोरोनाका कारण रोकिएका कामदार पठाउन छलफल भएको छ । कोरियाको सम्बन्धित निकायसँग कामदार पठाउन एक किसिमको महत्वपूर्ण विषयमा छलफल भएर अन्तिम चरणमा पुगेको शाखा निर्देशक गौतमले बताए ।

‘कोरोना स्वास्थ्य विषय, कामदारको बीमा र कोरियामा कोरोनाबाट सुरक्षित भएर कसरी काम गर्ने जस्ता महत्वपूर्ण विषयमा छलफल भइरहेको छ । कोरियाको मानव विकास केन्द्रले पनि नेपालबाट तत्काल कामदार लिने पक्षमा छ,’ उनले भने, ‘चैत अन्तिम अथवा वैशाख पहिलो सातादेखि कामदार कोरिया पठाउन सुरु हुन्छ । शाखाले सोही अनुसार पहल गरिरहेको छ । प्रक्रिया पुगेका कामदार जान पाउँछन् ।’

कोरिया कामदार पठाउने विषयमा नेपालको भन्दा कोरिया सरकारमा धेरै निर्भर हुने उनको भनाइ छ ।सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गत वर्षको फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो ।

कोरियन भाषा र सीप परीक्षा उत्तीर्ण गरे पनि कोरोना महामारीका कारण कोरिया जान नपाएका करिब १० हजारको रोजगारी अन्योल बनेको थियो । कोरियामा बढेको बेरोजगारी समस्याको प्रभाब नेपाली श्रम बजारमा पनि देखिएको छ ।

यो वर्ष पनि अन्योलमा परीक्षा

ईपीएसअन्तर्गत सन् २०२१ का लागि कोरिया सरकारले विदेशी कामदारका लागि ५२ हजार कोटा निर्धारण गरे पनि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने नगर्ने अहिलेसम्म निश्चित नभएको शाखाले जनाएको छ ।

कोरियाले २०२१ मा नेपालबाट यति नै कामदार लैजाने भनेर कोटा छुटाएको छैन । जसका कारण ईपीएसअन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षाका विषयमा अहिलेसम्म टुंगो नलागेको शाखाको भनाइ छ ।

कोरियाले विदेशी कामदार लिन ईपीएस कोरियन भाषा सञ्चालन गर्दै आएको छ । नेपालबाट सन् २००८ देखि कोरियन भाषा परिक्षा सञ्चालन गर्दै आएको छ ।

कोरिया सरकारले विदेशी कामदार आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।

विगतमा कोरिया सरकारले जनवरीदेखि फेब्रुअरीसम्ममा ईपीएस भाषा परीक्षा सञ्चालनका लागि पत्राचार गर्ने गरे पनि सन् २०२१ का लागि जानकारी नआएको शाखाका निर्देशक गौतमले जानकारी दिए ।

नेपालमा कार्तिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियन भाषा परिक्षाका विषयमा टुङगो नलागेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७ बुधबार ००:००  १० : १२ बजे