७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नगरलाई धुलोरहित बनाउँदै शिवराज



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा काँचुली फेर्दै गएको नगरप्रमुख नेत्रराज अधिकारीले बताएका छन् । नगरपालिकाले जेठ अन्तिममा दमकल र वैशाख दोस्रो साता एम्बुलेन्स ल्याउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

समपुरक अनुदानतर्फ सेमरी-भदौखर थुनिया सडक कालोपत्रे, वडा नमबर ११ मा पर्ने पैकीबैन्डा-इस्लामनगर सडक कालोपत्रे, वडा नम्बर ६ एवं १० बिसनपुर-पटप सडक कालोपत्रे अगाडि बढाइने उनले बताए ।

‘विशेष अनुदानतर्फ अधुरो थारु संग्रहालय निर्माण, बालज्योति मावि बिसुनपुरको भौतिक पूर्वाधार निर्माण, डम्पिङ साइट निर्माणका लागि काम अगाडि बढाएका छौँ’, अधिकारीले भने ।

नगरपालिकाले विकास निर्माणअन्तर्गत नगरलाई धुलोरहित बनाउन र किसानले उत्पादन गरेका वस्तुलाई सहज रूपमा बजारसम्म पु¥याउन सडक पूर्वाधार विकासमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले विकाससँगै स्वास्थ्यलाई प्राथमिकतामा राखेर आइसोलेसन भवन निर्माण र सडक विस्तार गरिएको र १५ किलोमिटर कालोपत्रे बाटोको स्तरोन्नति तथा मर्मत, ३७ किलोमिटर ग्राभेल गरी ६२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

नगरपालिकाको प्रत्येक गाउँलाई सडकसँग जोड्न १६ किलोमिटर रिङ रोड, नदी कटान नियन्त्रण गर्न १२५ मिटर तथबन्ध र स्वास्थ्यका लागि खेलकुद नारालाई सार्थक गर्न खेल मैदान निर्माण गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा कुल बजेट ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । नगरपालिकाले झोलुंगे पुल ४ वटा र थारु संग्रहालय ६३ लाख ३३ हजार रुपैयाँमा निर्माण गरिरहेको छ ।

यस्तै, वडा नम्बर १ मा खेल मैदान, विद्यालय भवन २ कोठे २ वटा र ४ कोठे २ वटा प्रशासनिक कार्य सञ्चालनका लागि वडा नम्बर २ र ४ नम्बर वडामा भवन निर्माण भएको छ । नगरपालिकाको वडा नम्बर ५ मा ६५ लाख रुपैयाँ बराबरको अस्पताल भवन निर्माण भइसकेको पूर्वाधार तथा योजना शाखाका सहायक मोहन केसीले जानकारी दिए ।

शिवराज नगरपालिकाको योजना शाखाले नगरभित्र सञ्चालन गरिने योजनाको ८५ प्रतिशत सम्झौता भएको योजना शाखाका अधिकृत रामजी थापा नेपालीले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ७ : १२ बजे