६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रूपन्देहीमा आइसोलेसनमा रहेका संक्रमितद्धारा आत्महत्या



रुपन्देही ।

रूपन्देहीमा कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्। रूपन्देहीको सैनामैना १ स्थित पदमपाणि योग तथा चिकित्सालयमा संचालन गरिएको कोरोना अस्थायी अस्पतालमा रहेका सैनामैना रानिबगियाका ४० वर्षीय पुरूषले आत्महत्या गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मुर्गियाका अनुसार ती पुरूषले अस्थायी अस्पतालकै शौचालयमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन्।

वैशाख १६ गतेदेखि चिकित्सालयमा भर्ना भएका उनी शनिवार झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले शुक्रबार दिनभरि अस्पतालले संचालन गरेको योग शिविर, प्रवचन लगायतमा सक्रिय सहभागी भएका उनी शनिबार बिहान पासो लगाएको अवस्थामा फेला परेको जानकारी दिए।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ। यता शनिबार बिहानै बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल १२ रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पश्चिम नवलपरासी र रूपन्देहीका एकएक जनाको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डाक्टर विष्णु गौतमका अनुसार रूपन्देहीको सुद्धोधन ५ का पुरूष र नवलपरासीको रामग्रामकी महिलाको शनिबार बिहान मृत्यु भएको हो। नवलपरासी रामग्राम १० की ४५ वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार कोरोना अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई कोरोना संक्रमणपछि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको र बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै सुद्धोधन ५ का ५५ वर्षीय पुरूषलाई वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्यमा समस्या देखिएपछि १६ गते अस्पताल भर्ना भएका थिए। ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका उनको बिहान पौने ६ बजे मृत्यु भएको हो।

शनिबार २ जना मृतक थपिएसँगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको छ। बुटवलको कोरोना अस्पतालमा मात्र मृत्यु हुनेको संख्या १ सय २८ पुगेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७८ शनिबार ००:००  ३ : ३१ बजे