१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साँझसम्म मतपरिणाम आउने, कसले मार्ला बाजी ?



काठमाण्डौँ ।

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतगणना ४।३० बजेदेखि प्रारम्भ गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै ३ बजेसम्ममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका छन् । यस मध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ जना रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ ।

राष्ट्रिसभा सदस्य उपनिर्वाचनको मतगणना कार्यलाई व्यवस्थित गर्न मतगणना सम्बन्धी थप निर्देशन समेत निर्वाचन अधिकृतलाई आयोगबाट आज नै पठाइ सकिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।आयोगले मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा मतदान कार्यमा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायत राष्ट्रसेवक कर्मचारीहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आयोग धन्यवाद ज्ञापन गरेको छ।निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विपक्षी गठबन्धनबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ पनि प्रतिस्पर्धामा छन् ।
नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानुनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ४ : २६ बजे