७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

इजरायल र प्यालेस्टाइनबीच किन द्धन्द्ध भैरहन्छ ? यस्तो छ कारण



एजेन्सी ।
युद्धविरामको घोषणापछि पनि इजरायल र प्यालेस्टाइनबीच तनाव कम भएको छैन । युद्धविरामको घोषणापछि पनि इजरायली सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच गाजा क्षेत्रमा झडप भएको हो ।
११ दिनको हिंसात्मक गतिविधिपछि दुवै पक्षले शुक्रबार बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिएका छन् । ११ दिनसम्म भएको भिडन्तमा एक सय जना बालबालिकासहित २३२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको थियो ।

इजरायल र प्यालेस्टाइनबीचको संघर्षले युद्धको रुप लिएको छ । यी दुवै देश बीच विवादको इतिहास धेरै पुरानो छ । र, यो विवादको मुख्य कारण जेरुसेलम सहर हो । जेरुसेलक सहरलाई विवादको प्रमुख कारण यसकारण पनि मानिन्छ किनकि इजरायल र प्यालेस्टाइन दुवैले जेरुसेलम आफ्नो राजधानी भएको दावी गर्छन् ।

अहिलेको विवादको कारण के हो ?

अहिलेको विवादको कारण इजरायलले शेख जर्राहलाई खाली गराउन गरेको प्रयासलाई मानिएको छ । शेख जर्राह पूर्वी जेरुसेलमको क्षेत्र हो । यहाँबाट इजरायलले प्यालेस्टाइनीहरुलाई निकालेर यहुदीहरुलाई बसाइरहेको छ । प्यालेस्टाइनीहरु यसको विरोध गरिरहेका छन् । गएको शुक्रबार रमजानको महिनाको अन्तिम शुक्रबार थियो । यही कारण जेरुसेलमको अल अक्सा मस्जिदमा मुस्लिमहरु नमाजको लागि भेला भएका थिए ।

नमाजपछि त्यहाँ जम्मा भएका मुस्लिमहरुले शेख जर्राहबाट प्यालेस्टाइनीहरुलाई हटाइएको विरोधमा प्रदर्शन गर्न थाले । यो विरोध प्रदर्शन हिंस्रक भयो र यस क्रममा इजरायली सेना र प्यालेस्टाइनीहरुबीच झडप भयो । जेरुसेलममा मुस्लिमको पवित्र महिना रमजानको सुरुवातसँगै इजरायली पुलिस र प्यालेस्टाइनीहरुबीच झडपका खबरहरु आइरहेका थिए ।

सामान्य दिनको तुलनामा रमजानमा अल अक्सा मस्जिदमा आउने मुस्लिमको संख्या अधिक हुन्छ । इजरायली पुलिसले जेरुसेलम सहरको दमास्कस गेटमा अवरोध राखेको थियो । मुस्लिमहरुले यसलाई आफूहरुको धामिृक स्वतन्त्रता रोक्ने कोसिस भनेका थिए । बढ्दो विरोध देखेर पुलिसले अवरोध हटायो तर माहोल बिग्रिनुको प्रमुख कारण यसलाई पनि मानिन्छ ।

विवादको अर्को कारण जेरुसेलम डेलाई पनि मानिएको छ । जेरुसेलम डे १९६७ मा अरब इजरायल युद्धमा इजरायलको जीतको खुसीमा मनाइन्छ । इजरायलले यो युद्ध केवल ६ दिनमा जितेको थियो र पूर्वी जेरुसेलममा कब्जा गरेको थियो । यस वर्ष १० मेका दिन जेरुसेलम डे मनाइयो ।

यस दिन इजरायलीहरु जेरुसेलममा मार्च गर्दै वेस्टर्व वालसम्म गएर प्रार्थना गर्छन् । वेस्टर्न वाललाई यहुदीहरुको पवित्र स्थल मानिन्छ । यो मार्चको क्रममा पनि हिंस्रक झडप भए । १० मेका दिन शेख जरौहबाट ४ प्यालेस्टाइनी परिवारलाई निकाल्ने विषयमा इजरायली अदालतमा सुनुवाइ तोकिएको थियो । बढ्दो विवादका कारण यो सुनुवाइ स्थगित गरियो ।

जेरुसेलम यति धेरै विवादित किन छ ?

जेरुसेलम मुस्लिम, इसाइ र यहुदी ३ धर्म मान्नेहरुको लागि आस्थाको केन्द्र हो । यहाँ अल अक्सा मस्जिद छ । मुस्लिमहरु पैगम्बर मोहम्मद मक्काबाट यहीँ आएको विश्वास गर्छन् । यो मस्जिद नजिकै डोम अफ रक पनि छ । मुस्लिमहरुका अनुसार यहीँबाट पैगम्बर मोहम्मदले स्वर्गको यात्रा गरेका थिए । मक्का र मदिनापछि मुस्लिमहरुले अल अक्सा मस्जिदलाई तेस्रो सबैभन्दा पवित्र स्थल मान्छन् ।

जेरुसेलममा इसाइहरुको पवित्र द चर्च अफ होली सेपल्कर पनि छ । विश्वभरका इसाइहरु यही ठाउँमा इसा मसिहलाई सुलीमा चढाइएको विश्वास गर्छन् । इसाइहरुले यही ठाउँदाई त्यो पवित्र ठाउँ पनि मान्छन् जहाँ इसा फेरि जीवित भएका थिए ।

जेरुसेलममा वेस्टर्न वाल पनि छ । यहुदीहरुका अनुसार यहाँ पहिले उनीहरुको पवित्र मन्दिर थियो र यो भित्तो अर्थात वेस्टर्न वाल त्यही मन्दिरको बाँकी भएको निशानी हो । यहीँ यहुदीहरुको सबेभन्दा पवित्र होली अफ होलीज छ । यहुदीहरु यहीँ इब्राहिमले आफ्ना छोरा इसाकको बलिदान दिएको मान्छन् । यहुदीहरुले यही स्थानबाट विश्वको निर्माण भएको पनि मान्छन् ।

जेरुसेलम ३ धर्मको पवित्र स्थल हुनुका साथै विवादको केन्द्र पनि हो । १९६७ मा भएको युद्धमा जीतपछि इजरायलले पूर्वी जेरुसेलममा पनि कब्जा गरेको थियो । त्यसपछि इजरायलले पूरै जेरुसेलमलाई आफ्नो राजधानी मान्छ । तर, अन्तर्राष्ट्रिय समुदायले इजरायलको यो दावीलाई मान्दैनन् । प्यालेस्टाइनीहरुले पनि प्यालेस्टाइन स्वतन्त्र राष्ट्र बनेपछि इजरायल आफ्नो राजधानी हुने दावी गर्छन् ।

प्यालेस्टाइनीको माग के हो ?

प्यालेस्टाइनीहरु इजरायल १९६७ भन्दा पहिलेको अन्तर्राष्ट्रिय सीमामा फर्किनुपर्ने माग गर्छन् । उनीहरु गाजा पट्टी र वेस्ट ब्यांकमा स्वतन्त्र प्यालेस्टाइनी राज्यको स्थापना गर्न चाहन्छन् । उनीहरु इजरायलले पूर्वी जेरुसेलममाथि आफ्नो दावी छाड्नुपर्ने माग गर्छन् ।

उनीहरु प्यालेस्टाइन स्वतन्त्र भएपछि पूर्वी जेरुसेलमलाई आफ्नो राजधानी बनाउन चाहन्छन् । तर प्यालेस्टाइनीको मागलाई इजरायलले पूर्ण रुपमा अस्वीकार गर्दै आएको छ । इजरायल जेरुसेलममा आफ्नो दावी छोड्न तयार छैन । इजरायल जेरुसेलमलाई आफ्नो राजधानी र आफ्नो देशको अभिन्न अंग भन्छ ।

इजरायल र प्यालेस्टाइनबीच केही क्षेत्रलाई लिएर विवाद छ । वेस्ट व्यांक इजरायल र जोर्डनको बीचमा छ । इजरायलले १९६७ को युद्धपछि यो क्षेत्रमा कब्जा गरेको हो । इजरायल र प्यालेस्टाइन दुवै यो क्षेत्रलाई आफ्नो भन्छन् । गाजा पट्टी इजरायल र इजिप्टको बीचमा छ । यहाँ अहिले हमासको नियन्त्रण छ । यो इजरायल विरोधी समूह हो । सेप्टेम्बर २००५ मा इजरायलले गाजा पट्टीबाट आफ्नो सेना फिर्ता बोलाएको थियो । त्यसपछि २००७ मा इजरायलले यो क्षेत्रमा कैयौं प्रतिबन्ध लगाएको थियो ।

यसबाहेक गोलन हाइट्सको विषयमा पनि विवाद छ । यो इजरायल र सिरियाको बीचमा छ । राजनीति र रणनैतिक रुपले महत्वपूर्ण यो क्षेत्रमा पनि १९६७ पछि इजरायलको नियन्त्रण छ । यो क्षेत्रमा इजरायलले कब्जा गरेपछि यस विषयमा कैयौं शान्ति वार्ता भइसकेका छन् तर कुनै सफलता प्राप्त भएको छैन ।

१९६७ मा पूर्वी जेरुसेलममा नियन्त्रण गरेसँगै इजरायल यहाँ जन्मिने यहुदी बालबालिकाहरुलाई इजरायली नागरिक मान्छ तर यही क्षेत्रमा जन्मिएका प्यालेस्टाइनीहरुलाई भने कैयौं शर्तहरुको साथमा यहाँ बस्न दिइन्छ । यीमध्ये एउटा शर्त यो पनि हो कि निश्चित समयभन्दा धेरै जेरुसेलमबाट बाहिर बसेमा उसलाई दिइएको जेरुसेलममा बस्ने अधिकार खोसिन्छ । इजरायलको यो नीतिलाई कैयौं मानव अधिकार समूह विभेदकारी नीति भन्छन् । तर इजरायलले यी आरोप अस्वीकार गर्दै आएको छ ।

कति पुरानो हो यो संघर्ष ?

यो संघर्ष कम्तीमा १ सय वर्षदेखि चलिआएको छ । अहिले जहाँ इजरायल छ त्यहाँ कुनै समय टर्कीको शासन थियो र यसलाई ओटोमान साम्राज्य भनिन्थ्यो । १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो । विश्वयुद्धमा टर्कीले मित्र राष्ट्रको विरोधी पक्षको साथ दियो । मित्र राष्ट्रमा बेलायत पनि थियो तर टर्कीले विरोधी पक्षको साथ दिएकोले टर्की र बेलायत विपक्षी भए । त्यतिबेला बेलायती साम्राज्य आफ्नो उत्कर्षमा थियो जसको नतिजा बेलायतले युद्ध जित्यो र ओटोमान साम्राज्य बेलायतको नियन्त्रणमा पुग्यो ।

यो समउ जियोनिज्मको भावना चरम अवस्थामा थियो । जियोनिज्म एक राजनैतिक विचारधारा थियो जसको उद्देश्य एक अलग र स्वतन्त्र यहुदी राज्य स्थापना गर्ने थियो । यही भावनाका कारण यहुदीहरु ओटोमान साम्राज्यमा आउन थाले । प्यालेस्टाइन पनि भनिने यो क्षेत्रमा यसरी विश्वभरीबाट यहुदीहरु आउन थालेपछि १९१७ मा बेलायतका विदेश सचिव जेम्स बेलफोरले बेलायत प्यालेस्टाइनलाई यहुदीहरुको मातृभूमि बनाउन प्रतिबद्ध भएको घोषणा गरे ।

१९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो । यो युद्धमा बेलायतलाई धेरै नोक्सानी भयो र ऊ पहिलेको जस्तो शक्ति रहेन । अर्कोतर्फ त्यतिबेलासम्म यहुदीहरु प्यालेस्टाइनमा गएर त्यहीँ बस्ने क्रम भने चलिरहेको थियो । यससँगै अन्य देशहरुले बेलायतमाथि यहुदीहरुको पुनर्बासको व्यवस्था गर्न दबाब दिन थाले । अन्ततः बेलायतले आफूलाई यो विवादबाट अलग गर्यो र यो विवाद समाधानको जिम्मा संयुक्त राष्ट्रसंघलाई दियो । संयुक्त राष्ट्रसंघको स्थापना १९४५ मै भएको थियो ।

२९ नोभेम्बर १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई २ भागमा बाँडिदियो । एउटा अरब राज्य बन्यो र अर्को इजरायल बन्यो । जेरुसेलमलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरकारको नियन्त्रणमा राख्यो । अरब देशहरुले संयुक्त राष्ट्रसंघको यो निर्णय मान्न अस्वीकार गरे । उनीहरुले जनसंख्याको हिसाबले आफूहरुले कम जमिन पाएको बताएका थिए ।

खासमा विभाजनपछि प्यालेस्टाइनले कूल भूभागको आधाभन्दा कम भूभाग पायो जबकि विभाजनभन्दा पहिले ९० प्रतिशत भूभागमा अरबीहरुको नियन्त्रण थियो । यसको अर्को वर्ष इजरायलले स्वयंलाई एक स्वतन्त्र राष्ट्र घोषित गर्यो । अमेरिकाले तत्कालै एक देशको रुपमा इजरायललाई मान्यता दियो । त्यसपछि अरब देश र इजरायलबीच कैयौं युद्ध भए । इजरायलले हरेक युद्धमा अरब देशहरुलाई जित्यो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ५२ बजे