१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जर्मन बुन्डेसलिगाः बायर्नलाई उपाधि ट्रफी



एजेन्सी ।
जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किग्सले कोम्यानले एक एक गोल गरे ।

बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गर्दा आन्द्रे हान र फ्लोरिनले एक एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा जेफ्रीले आत्मघाती गोल गरेपछि बायर्नले १-० को अग्रता बनाएको थियो ।खेलको २३ औं मिनेटमा जिनाब्रीले गोल गर्दा बायर्न २-० ले अघि रह्यो ।

खेलको २५ औं मिनेटमा अग्स्बर्गका डानिलको पेनाल्टी प्रहार बायर्नका गोलकिपर नुएरले बचाए ।३३ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नको अग्रता ३-० को बनाए ।

खेलको ४३ औं मिनेटमा कोम्यानले गोल गरेपछि बायर्न पहिलो हाफमा ४-० ले अघि रह्यो । खेलको ६७ औं मिनेटमा अग्स्बर्गका आन्द्रेले गोल गर्दै खेल ४-१ मा ल्याए ।

७२ औं मिनेटमा फ्लोरिनले गोल गरेपछि खेल ४-२ को स्थितिमा पुग्यो । त्यसपछि खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ५२ को जित दिलाए ।

यस गोलसँगै लेवान्डोस्कीले जारी सिजन ४१ औं गोल पूरा गरेका छन् । उनले २९ लिग खेलमा ४१ गोल पूरा गरेका हुन् ।

लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

Image

लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

आफ्नो अन्तिम खेलमा जित निकालेसँगै बायर्नले सिजनको सुखद अन्त्य गरेको छ । र, उपाधि ट्रफी प्राप्त गरेको छ ।

यस सिजन उपाधि जित्ने क्रममा बायर्नले ३४ खेलमा ७८ अंक जोड्यो । अग्स्बर्ग ३६ अंक जोडेर १३ औं स्थानमा रह्यो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ७ : ०१ बजे