१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनः दुवै समूहको जित्‍ने दाबी



बुटवल ।
राष्ट्रिय सभा अन्तर्गत लुम्बिनी प्रदेशमा हुन लागेको रिक्त १ सदस्य पदमा १७ जेठमा हुने निर्वाचनको मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचार-प्रसार र मत माग्‍न नहुने, मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार-प्रसार सामग्री हटाएको हुनुपर्नेछ ।

यसैगरी एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय सामाजिक सञ्‍जालमार्फत मत माग्‍न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, उम्मेद्वार वा राजनीतिक दलको प्रचार-प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले बताएको छ । आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधिका लागि तय आचरण पालना गर्न-गराउन सबैसँग अनुरोध गरेको हो ।

राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन १७ जेठमा हुँदै छ । निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीअनुसार सो प्रदेशका ८७ प्रदेशसभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउनेछन् । अन्य ८ जना भने विभिन्‍न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन ।

यसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ सभामुखसहित, जसपाका २ र राजमोका १ जना सांसद छन् ।

पार्टीको निर्णय नमानेको भन्दै जसपाको उपेन्द्र यादव समूहले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारबाही गरेको थियो । हाल लुम्बिनीमा मन्त्री रहेका उनीहरूले मतदान गर्न पाउने छैनन् । प्रदेश निर्वाचन कार्यलयका सुचना अधिकारी गेहेन्द्र कुवँरले मतदाता सूचीमा नाम भएकालाई मात्र निर्वाचनमा भाग लिने बताए ।

यसैगरी नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २१७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । स्थानीय तहतर्फका २ सय १७ मध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । उपनिर्वाचनका लागि नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृघनारायण पाण्डेलाई उम्मेद्वार बनाएको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो ।

पाण्डे कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनका उम्मेद्वार हुन् । उनी एमाले लुम्बिनी प्रदेश सभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका थिए । विपक्षी गठबन्धनले उनलाई नै उम्मेद्वारको बनाएको हो ।

निर्वाचनमा दुवै पक्षले जित निश्‍चित हुने दाबी गरेका छन् । काँग्रेसका प्रदेश सभाका सचेतक फकरुद्विनले गठबन्धनको जितमा शंका नरहेको बताए । उनले माधव समूहसमेतको सहयोगले अत्याधिक मतले जित्‍ने दाबी गरे । उता एमाले प्रदेश अध्यक्ष लिला गिरी सबैतिर प्रचारको काम भएकोले मतदाताको भनाइ अनुसार आफ्नो उमेद्वारले जित्‍ने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ३७ बजे