११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तु प्रहरीको कच्चा काम, राम्रो गर्न खोज्दा आफै फसादमा !



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल प्रहरीमा प्रहरी उपरिक्षक अर्थात एसपी पदलाई उच्च दर्जाको पद मानिन्छ । यहीँ फुली लगाएर ती प्रहरीले जिल्लाको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाउँछन् । तर, यस्तो जिम्मेवार पद पाएका कतिपय प्रहरी उपरिक्षकहरुले आफ्नो कच्चापन र अपरिपक्कता प्रदर्शन गर्दा आलोचित हुने गरेका छन् । यसैको पछिल्लो उदाहरणको रुपमा कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारी प्रस्तुत भएका छन् ।

उसो त अधिकारी कपिलवस्तुमा प्रवेश गरेपछि चर्चामा आएका प्रहरी अधिकारी हुन् । तर, शुक्रबार वेवारिसे भनेर बरामद गरिएको ९० बोरा रासायनिक मलमा उनी अपरिपक्क देखिए ।

घटना यो थियो

शुक्रबार दिउँसो विशेष सुराकीको आधारमा प्रहरीले बुद्धभूमि १० चेतरादेईबाट रासायनिक मलसहित मिनि ट्रकलाई नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई बुझायो । दाङ जिल्लाबाट कपिलवस्तुमा रासायनिक मल लिन आएको मिनि ट्रकले कपिलवस्तु नगरपालिका वडा नं. ८ मा रहेको नव दुर्गा खाद्यान्न एण्ड मलखाद सप्लायर्सबाट ९० बोरा रासायनिक मल किनेको थियो । साथै पकडीबाट बरान (धुटो) र अदुवा २ बोरा सहित ट्रक तौलिहवा चेतरादेईबाट गोरुसिंगे हुँदै दाङ तर्फ प्रस्थान गर्दै थियो ।

सोही क्रममा चेतरादेईबाट ट्रकलाई जिल्ला प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेको प्रहरी परिसर भित्र लग्यो । त्यहाँ प्रहरीले ट्रक भित्र रहेको सबै सामान अनलोड गराएर प्रहरीले खानतलासी शुरु गर्‍यो ।

साँझ ८ बजे रासायनिक मल दिएका तौलिहवाका व्यापारी सन्तोष कशौधन प्रहरीले ट्रक नियन्त्रणमा लिएको थाहा पाए पछि गोरुसिंगे पुगे । गोरुसिंगे पुगेर उनले आफुसंग भएका सबै कागजात प्रहरीलाई बुझाए । तबसम्म गोरुसिंगेमा चालक मात्र थिए । ट्रकलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याएर भन्सार चलान गरि सकिएको थियो ।

सुठौली भन्सार लगिएको ट्रकको सामानलाई भन्सार कार्यालयले शुक्रबार साँझ नै सूचना निकालेर लिलामी प्रकृया अगाडी बढाएको थियो । लिलामीको सूचनामा वेवारिसे रुपमा भेटिएको सामान भन्ने छ ।

व्यापारी मारमा

सरकारले नियम अनुसार बेचेको रासायनिक मल प्रहरीले वेवारिसे भन्दै भन्सार चलान गरेपछि सन्तोष कशौधन मारमा परेका छन् । उनले आफुले बेचेको रासायनिक मलको बिलसहित मायादेवी अनलाइन समक्ष प्रमाण पेश गरेका छन् । लामो समय देखि आफुले रासायनिक मलको विक्री वितरण गर्दै आएको भन्दै शुक्रबार बेचेको ९० बोरा मल अवैध नभएको उनले जनाए । प्रहरीले गहिरो अनुसन्धान नगरी कसैले सुराकी दिएकै आधारमा आफुलाई फसाउन खाजेको भन्दै गुनासो गरे ।

चेतरादेईबाट गुडिरहेको ट्रकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोरुसिंगेमा लगेर चालकसहितका तीन जनाको बीचमा प्रहरीले ट्रकमाथि खानतलासी गरेको उनले बताए । खानतलासी पछि ट्रकलाई तौलिहवा ल्याइएको र चालकलाई गोरुसिंगे मै राखिएको उनले बताए । चालकले रासायनिक मलको बील देखाउँदै प्रहरीले जवरजस्ती ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर भन्सार चलान गरेको उनले बताए ।

भन्सार कार्यालयले शुक्रबार नै वेवारिसे सामान भन्दै लिलामीको सूचना निकालेको भन्दै आफुले आधिकारिक बेचेको रासायनिक मल कसरी वेवारिसे भयो भन्दै उनले प्रश्न गरेका छन् । उनले सामान बेचेको बीलसहितको प्रमाण मायादेवी अनलाइनलाई दिएका छन् ।

यता सुठौली भन्सार कार्यालयका प्रमुख रमेश खड्काले प्रहरीले ट्रक र सामानसहित बुझाए पछि कानुनी प्रकृया अनुसार १५ दिने वेवारिसे सूचना निकालेको बताए । उनले यसको लिलामी प्रकृया अगाडी बढेकाले सम्बन्धित व्यक्तिलाई भन्सार कार्यालय बोलाइएको बताए । उनका अनुसार भन्सार चलान भएको सो सामान लिन ४ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने छ । साथै कानुन अनुसार मुद्धा प्रकृया अगाडी बढाइने उनले बताए । प्रहरीले भन्सार कार्यालयमा वेवारिसे मल भनेर पठाए पछि आफुले प्रकृया अगाडी बढाएको बताए ।

उनले भने, ‘वारिसे र वेवारिसे सामानको प्रकृया फरक हुन्छ । प्रहरीले वेवारिसे सामान भनेर बुझाएपछि तुरुन्तै प्रकृया अगाडी बढाएको हुँ । अब सो सामान लिनको लागि अढाई लाख सामान, ५० हजार चालक र १ लाख गाडीको गरी ४ लाख धरौटी बुझाउनुपर्ने छ ।’

यसपछि व्यापारी कशौधन तनावमा छन् । यता प्रहरीले भने सुरुमा कागजपत्र नभेटाएकाले तुरुन्तै वेवारिसे सामान भनि भन्सार चलान गरेको बताएको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले भने, ‘ट्रकभरी विभिन्न कम्पनीका मलका बोरा भेटिए । भारतीय मललाई नेपालमा कहाँ कोरोबार गर्न पाइन्छ ? त्यस कारण भन्सार चलान गरेको हुँ ।’ उनले ट्रकमा अदुवा, बरान भएता पनि त्यसको बिल नभएको तर मलहरुको भने बिल भेटाएपछि अर्को दिन भन्सार कार्यालय पुगेको स्विकार गरे ।

यस कारण प्रहरीले काचो काम गर्‍यो !

कुनै पनि अवैध धन्दा, वेवारिसे सामान, घुसपैठ, तस्करहरुको अनुसन्धान गर्नु, नियन्त्रणमा लिनु र कानुन अनुसार कारबाहीको लागि भागिदर बनाउनु प्रहरीको काम हो । त्यो प्रहरीको काम, कर्तव्य पनि हो । कपिलवस्तु प्रहरीले यो घटनामा सो कर्तव्य निर्वाह गर्न खोज्नु राम्रै कुरा हो । तर, अपरिपक्कता प्रदर्शन गर्दा प्रहरी उपरिक्षक अधिकारीलाई नै अहिले फसाद परेको छ । उनले घटना भएको दिन ट्रकमा रहेको सामान वैध हो कि अवैध ? वारिसे हो कि वेवारिसे ? कागजात छन् या छैनन् ? कानुनी प्रकृया पूरा भएको छ कि छैन् ? सुक्ष्म अध्ययन गरेर मात्र ती समानहरु भन्सार चलान गर्नुपथ्र्यो ।

तर, एसपी अधिकारीले हतारमा सामानसहितको ट्रकलाई चोरीको सामान भन्दै आवश्यक कारबाहीको लागि सूठौली भन्सार चलान गरे । तर, भोलिपल्ट उनै प्रहरी प्रमुख अधिकारीले ती सामानको बीलसहित भन्सार अधिकृत समक्ष पुग्नु पर्‍यो । उनले भन्सार अधिकृत समक्ष यो घटना मिलाउन खोजेपनि त्यो कानुनी कारबाहीको प्रकृयामा गैसकेको हुनाले मिल्ने कुरा भएन । अहिले पनि प्रहरीले यो विषयलाई मिलाउन खोजि रहेको देखिन्छ ।

यता भन्सार प्रमुख भने अब मिल्ने प्रकृया बाँकी नै नरहेको बताउँछन् । मिलाउँदा जागीरै जाने भयमा उनी देखिन्छन् । मायादेवी अनलाइनले फोन गरेर बुझ्दा भन्सार प्रमुख खड्काले घुमाउरो पाराले यो कुरा बताए । उनले मुद्धा प्रकृया अगाडी बढेको भन्दै चार लाख धरौटी बुझाए पछि पनि सामान र ट्रक लिलाम हुन सक्ने र चालकमाथि थप कारबाही हुन सक्ने बताए ।

शनिबार आफ्ना सामानका बारेमा सत्य तथ्यसहित भन्सार कार्यालयमा पुग्दा भन्सार प्रमुखले यो कुरा सुनाएपछि व्यापारी कशौधन निकै तनावमा छन् । उनी चार लाख रुपैयाँ आफुले तिर्न नसक्ने अवस्थामा रहेको बताउँछन् ।

‘आफ्नो सामान वेवारिसे नभएको र पुरै प्रकृया पुगेकाले चार लाख किन तिर्ने ? विना धरौटी आफ्नो सामान फिर्ता पाउनुपर्छ । यदी तिर्नै पर्ने हो भने प्रहरीले नै यसको जिम्मेवारी लिनुपर्छ उनले भने ।’

यता प्रहरी उपरिक्षक अधिकारीले मलमा भारतीय लोगो देखेको भने पनि त्यो पुष्टि हुन सकेन् ।मायादेवी अनलाइनलाई प्राप्त प्रमाण अनुसार ति मलको बोरामा किसान गोल्ड, हरि एण्ड राज इन्टर प्राईजेज बिरगंज र सफल किसान मल जनकपुर फर्टिलाईजर ई प्रा. लि मोरङ्गमा ईम्पोर्ट आदी उल्लेख छ । बोरामा ‘बेटी बचाओ, बेटी पढाओ’ नारा लेखेको प्रष्ट देख्न सकिन्छ । यो नारा प्रदेश नं. २ सरकारले ल्याएको नारा हो ।

प्रहरी उपरिक्षक अधिकारीले यस्तो होला भन्ने सोचेका रहेनछन् । भन्सार चोरी पैठारी गरि नक्कली बोरामा भरिएको वा नक्कली मल भएकै कारण मल सहितको गाडी रोकेर चालक सम्पर्कबिहिन भएको हुनाले आफूले हठात् थप बुज्नका लागि भन्सार गरिहालेको उनले बताए ।

यता भन्सारले भने बेवारिसे सामान भनिसके पछि पखर्ने पनि सीमा नराखि अनलाइन प्रक्रियामा गयो । त्यसपछि यो विषय पेचिलो बनेको हो ।

प्रहरी उपरिक्षक अधिकारीले ब्यापारीलाई दुख दिने नियतले यसो नगरेको मायादेवी अनलाइनसंग बताए । जिल्लाको कमाण्ड सम्हालेदेखि अपराध नियन्त्रण, लागु पदार्थ दुव्र्यसनी, फरार अभियुक्त पक्राऊ र अनुसन्धानमा नतिजामुखी ढंगले काम गरेको भए पनि सानातिना काममा भने उनी चुक्ने गर्दछन् प्रसंशासंगै आलोचनामा पनि पर्दछन् । यो बिभिन्न घटनाक्रमले बताउँछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  १० : २२ बजे