सिद्धबाबाको डाँडा काटिन्नः अर्थमन्त्री पौडेल


काठमाडौं ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने बताएका छन् । बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको बहस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने स्पष्ट पारेका हुन् ।

सिद्धबाबाको डाँडा काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफूलाई सुझाव आएको भए पनि आफूले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको उनको भनाइ छ ।

चुरे दोहन रोक्ने, खानीजन्य सामग्री त्यहाँबाट नहटाउने र यात्रा सुरक्षित गराउने उद्देश्यले सुरूङमार्ग प्रस्ताव गरिएको पनि उनले बताए । उनले भने, ‘कतिपय व्यक्तिले सिद्धबाबाको डाँडा सम्म परेर माटो, ढुंगा हटाएर त्यहाँको यात्रालाई सुरक्षित गर्न सकिन्छ भनेर सुझाव नदिएका होइनन् । तर म स्वयंले त्यो डाँडाको खानीजन्य पद्धार्थ निष्काशन गर्ने कुराको सख्त विरोध गरेँ । चुरे संरक्षणको महत्वलाई मैले स्थापित गर्ने पहल गरेँ । सिद्धबाबाको डाँडा खनेर यात्रा सुरक्षित गर्ने होइन, त्यहाँ सुरूङ मार्गको व्यवस्थित प्रबन्ध गरेर चुरे दोहन र उत्खननबाट जोगिनुपर्छ भन्ने मान्यताका साथ हामी सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्दैछौँ ।’

अर्थमन्त्री पौडेलले बजेट वक्तव्यको बुँदा नं. १९९ मा कहीँ कतै पनि चुरेबारे उल्लेख नगरिएको भन्दै अनावश्यक रूपमा विवाद निकालिएको बताए । सरकारले चुरे क्षेत्रमा कुनै प्रकारको हस्तक्षेप गर्न नदिने उनको भनाइ छ । चुरे संरक्षण गर्ने सरकारको अभिभारा रहेको भन्दै उनले चुरे क्षेत्रबाट केही पनि उत्खनन् तथा निकासी नगर्ने बताए ।

‘बजेट वक्तव्यमा चुरे उल्लेख गरिएको छैन । चुरेबाट उत्खनन् गर्ने भनिएको छैन । हाम्रा यावत् पूर्ववर्ती निर्णयले चुरेमा कुनै पनि प्रकारले हस्तक्षप गर्न नदिने निर्णय गरेको छ । बुँदा नं. १९९ मा चुरेलाई ल्याएर जोड्ने कोशिस भएको छ । चुरेमा हामी कुनै प्रकारको दोहन हुन दिँदैनौं । त्यसको संरक्षण गर्छौं । त्यो हाम्रो अभिभारा हो । एक डोको माटो र एक डोको ढुंगा हामी चुरेबाट उत्खनन् गर्दैनौं । त्यहाँबाट निकासी गर्दैनौं । कोदालो, डोजर लिएर होइन, एउटा कुटो लिएर खोस्रिने पनि काम गर्नु हुँदैन भन्ने वर्तमान सरकारको दृढ धारणा हो,’ उनले भने ।

उनले गैरकानुनी रूपले चुरे उत्खनन् गर्ने वा वातावरणमा प्रतिकूल प्रभाव हुने गरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदा दोहन गर्नेलाई कडा कारबाही गरिने बताए । चुरे दोहनलाई कडाइका साथ नियन्त्रण गरिने उनको भनाइ छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस