७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अमेरिकाले विश्वका ९२ देशलाई फाइजर खोपको ५० करोड मात्रा वितरण गर्ने



एजेन्सी ।

अमेरिकाले विश्वका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारीगरेको हो ।

त्यसमध्ये यो वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । बाँकी मात्रा सन् २०२२ मा वितरणको तयारी अमेरिकाले गरेको हो ।

विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ ।

राष्ट्रपति बाइडेन सत्तामा आएपछिको आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बेलायत अवतरण भएपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी भएको हो । विश्वभर ५० करोड मात्रा खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी दिन भने बाँकी नै छ ।

तर विदेश भ्रमणमा निस्कने क्रममा राष्ट्रपति बाइडेनले आफूसँग विश्वलाई खोप वितरण गर्ने सम्बन्धमा एक योजना रहेको त्यो चाँडै घोषणा गर्ने बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले विश्वका कम आय भएका ९२ देशलाई खोप वितरण गर्ने तयारी गरेको हो ।

बाइडेन बुधबार बेलुका बेलायत पुगेका छन् । उनले आरएएफ मिल्डेनहलमा रहेको एअरबेसमा अमेरिक सैनिकलाई सम्बोधन गरेका छन् । उनले आफ्ना सहयोगी देशहरुलाई धन्यावाद दिँदै अमेरिका फेरि विश्व नेतृत्वमा फर्किएको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबिच बिहीबार भेटवार्ता हुनेछ । बाइडेन विकसित देशहरुको समूह जी सेभेनको सम्मेनलका लागि इंग्ल्याण्ड पुगेका हुन् । जी सेभेनमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायतसहित युरोपियन युनियन छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  १ : २२ बजे