१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खेलाडीको प्रसंसा गर्दै प्रशिक्षक अब्दुल्लाहले भने-गोर्खालीजस्तै खेल्यौ



कुवेत । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपालले अष्ट्रेलियाविरुद्ध वीर गोर्खाली जस्तै प्रर्दशन गरेको बताएका छन् । विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासंग ३–० ले पराजित बनेपछि मुख्य प्रशिक्षक अलमुताईरीले आफ्ना खेलाडीको प्रशंसा गरेका हुन् ।

उनले वीर गोर्खाली जस्तै खेलाडीले मैदानमा प्रर्दशन गरेको दाबी गरे ।‘हामीले गोर्खाली जस्तै खेल्यौं । १० खेलाडीमा सिमित बनेपनि केही फरक परेन । खेलाडीले हर सेकेन्ड मेहेनत गरेर खेले ।’ अलमुताईरीले खेलपछि भने ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा सिमित बनेको थियो । डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो । सो अवस्थामा नेपाल २–० ले पछि थियो । दोस्रो हाफमा नेपालले अष्ट्रेलियासंग थप एक गोलमात्र ब्यहोर्यो ।

मुख्य प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडी आयुष घलान, कमल थापा र सुरज जिउ थकुरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए ।

नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासंग खेलेको हो ।‘हामीले आफ्नो उत्कृष्ट दियौं । हामीले काउन्टरमा खेल्ने प्रयास गर्यौ । हामीले रक्षात्मक खेल्ने प्रयासनै गरेनौं ।’ अब्दुल्लाहले भने ।प्रशिक्षक अब्दुल्लाहले अष्ट्रेलियाले नेपाललाई सम्मान गरेर प्रर्दशन गरेको बताए ।उनले कुवेत, जोर्डन जस्ता बलियो टिमरिुद्ध खेल्ने अष्ट्रेलियाविरुद्ध नेपालले खेलेको बताए । उनले अष्ट्रेलियाले नेपालविरुद्ध सम्मान देखाएर बलियो टिम उतारेको प्रतिक्रिया दिए ।

नेपाल पहिलो लेगको खेलमा अष्ट्रेलियासंग ५–० ले पराजित बनेको थियो ।अष्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालको चुनौती दिने मानसिकताको खुलेर प्रशंसा गरे ।‘उनीहरु एक पछि अर्को गर्दै चुनौती दिए । उनीहरु दौडिन रोकिएनन् । तर हामी निश्चित काम गर्न यहाँ आएका छौं । त्यो पुरा भएको छैन ।’ उनले भने ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ८ : १० बजे