१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लुकाकु चम्किदा बेल्जियमको सानदार जित



एजेन्सी ।

बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे ।

यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो ।खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताईएको छ ।

खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए । उनले मुनिएरको पासमा गोल गरेका हुन् ।

बेल्जियमका लागि लुकाकुको यो ६२ औं गोल हो ।जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।समूह बीमा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । रुस पुछारमा रहेको छ ।यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ ।डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ६ : १७ बजे