१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भेनेजुएलालाई ३–० ले हराउँदै ब्राजिलको सुखद सुरुवात



एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १/१ गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट हुलमुलमा गोल गरेका थिए । पहिलो हाफमा नै ब्राजिलले अग्रता बढाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

कोरोना संक्रमणका कारण भेनेजुएलाका ८ खेलाडीले कोपा गुमाउने भएपछि टोली केहि कमजोर देखिएको थियो । बल पोसेसनमा कमै पकड जमाएको भेनेजुएलाले केहि अवसर सिर्जना गरेपनि ब्राजिलको डिफेन्ससामु निरिह बनेको थियो । दोस्रो हाफमा ब्राजिलले २ गोल थप्दै जित पक्का गरेको हो ।

खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । पेनाल्टी क्षेत्रभित्र ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । नेयमारले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै सहजै गोल गरेका थिए ।

खेलको अन्तिम समयमा ग्याब्रिएल बार्बोसाले नेयमारको असिस्टमा गोल गर्दै जित सुनिश्चित गरे । नेयमारको क्रसलाई बार्बोसाले सहजै गोल गर्दै ३–० को जितसम्म डोर्याएका थिए ।

यस जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेको छ । यस समूहको अर्को खेलमा आज कोलोम्बिया र इक्वेडर भिड्दैछन् । ब्राजिलले अब अर्को खेलमा पेरुको सामना गर्नेछ भने भेनेजुएलाले कोलोम्बियासँग खेल्नेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ५ : ०२ बजे