२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मेस्सीको फ्रि किक गोल, तर चीलीले बराबरीमा रोक्यो



एजेन्सी ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो ।

खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

चिलीका एरिक पुल्गरले पेनाल्टी क्षेत्र भन्दा केहि बाहिर जियोभानी लो सेल्सोलाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । जसमा मेस्सीले टप कर्नरमा उत्कृष्ट गोल गरे ।र्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो ।

तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

त्यसअघि अर्जेन्टिनाका निकोलसले भिडाललाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताबाट चिलीलाई पेनाल्टीको अवसर दिईएको थियो । तर, भिडालले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस बराबरीसँगै समूह ए मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ६ : १० बजे